धरान : प्रदेश नं १ को विभिन्न जिल्लामा आज ४ जनाको मृृत्यु भएको छ । मृत्यु हुनेहरु मोरङ, झापा र ओखलढुंगाका हुन् ।

१ नं प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङको बिहान पौने ११ बजे ट्याक्टरले किचेर आज एकको ज्यान गएको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टर पल्टदा ट्याक्टर धनी ४१ बर्षीय दिपक सरबरियाको मृत्यु भएको हो । स्थानीय कुल बहादुर गुरुङको खेतमा सरबरिया आफैले जोत्ने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिएको उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधनगरले जनाएको छ ।

यस्तै, झापामा २ जनाको ज्यान गएको छ । झापाको कमल गाउँपालिका ५ का ६८ बर्षीय काजी बहादुर जोशीलाई पैनीले बगाउदा मृत्यु भएको प्रहरीले जनाएका छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार आज बिहान साढे ५ बजे गोठ जाने क्रममा पिडीमा चिप्लिएर पैनीमा लडेपछि बगाउदा जोशीको मृत्यु भएको हो ।
यस्तै, झापाको हल्दीबारी गाउँपालिका १ का ३८ बर्षीय बिरेन्द्र बुढाथोकीको पनि खेतमा जमेको पानीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आज बिहानको राती २ बजे घरबाट निस्केर हिडेका बुढाथोकी बिहानसम्म घर फर्की नआएपछि खोजी गर्दै जाँदा घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, १ नं प्रदेश प्रहरी कार्यालयका अनुसार ओखलढुङ्गाको लिखु गाउँपालिका ५ का ३७ बर्षीय लोकबहादुर परियारको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बजारबाट घरतर्फ फर्कने क्रममा सोही स्थानमा रहेको भिरमा चिप्लीएर लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।