उदयपुर: उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं ८ कात्तिकेमा एक वृद्ध मृत फेला परेका छन् ।

स्थानीय ६० बर्षीय किताब सिंह राई घर नजिकै रहको कात्तिके जंगलमा मृत अवस्थामा फेला परेका हुन् । उनी हिजो बिहिबार दिउँसो साढे १ बजे गाई बाख्रा चराउन घर नजिकै रहेको कात्तिके जंगलमा गएका थिए । राती अबेरसम्म पनि घर फर्किएर नआएपछि आफन्तले खोजी गर्दै जाने क्रममा राती १२ बजे जंगलमा मृत भेटाएका थिए । उनको शव घर भन्दा दुई किलोमिटर टाढा रहेको कात्तिके जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतकका आफन्तजनले प्रहरी कार्यालय बेल्टारमा आज बिहान ९ बजे घटनाबारे जानकारी गराएका थिए । जंगलमा सालको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लडि उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले कानुनी कारबाही तथा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरि, मोरङको बेलबारी २ स्थित लालभित्तिमा ३१ बर्षीय दिपेश लिम्बुको पनि ज्यान गएको छ । उनी आज बिहान साढे १० बजे अचेत अवस्थामा फेला परेका थिए । उनको बारेमा स्थानीयले ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराएपछि प्रहरीले उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगेको थियो । उनको उपचारको क्रममा पाउने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।