झापा: घाम भर्खरै उदाउदै गरेको । एका बिहानै हातमुख धोएर डोको बोकेर जंगलतिर जादै गरेकी मोरङ कानेपोखरीकी रश्मिता बिक । मोटरसाईकलको ब्रेक तानेर घ्याच्च मोटरसाईकल रोके अनि सोधे,“दिदि एकाबिहानै डोको बोकेर कता लाग्नुभयो ? घाँस काट्न हो ?” उनले मुस्कुराउदै जवाफ फर्काइन,“हैन भाई म निगुरो खोज्न हिडेकी जंगलतिर ।”

मंगलबार काठमाण्डौबाट बिराटनगर एयरपोर्टमा ओर्लिएर सहकर्मी चक्रपाणी गौतमको स्कुटरको पछाडी बसेर दमक आउँदै गर्दा कानेपोखरीको जंगलमा निगुरो बेच्नेको भिड देखे । स्कुले बालकदेखी गाला चाउरी परिसकेका हजुरबुवा हजुरआमा समेत निगुरो बेच्न ब्यस्त थिए । त्यसैबेला एक दुईजना निगुरो व्यापारीलाई सोधे,“कतिबेला निगुरो टिप्न जानुहुन्छ ?” उनीहरुले उज्यालो हुनासाथ जंगल छिर्छौ भनेपछि एकाबिहानै म कानेपोखरीको जंगल पुगे । अनि काधमा डोको र नम्लो लिएर जादै गरेकी रश्मिता बिकलाई आफ्नो परिचय दिदै रिपोर्टीङ्गका लागि आएको कुरा सुनाए ।

niguro-bechneharu

उनले निगुरो टिप्दै सुनाउदै गईन । जङ्गलको निगुरोबाटै ६ जनाको परिवार पाल्दै आएको बताइन् । जङ्गलमा दिनभरि खोजेको निगुरोनै आफ्ना लागि जिउने सहारा बनेको उनी सुनाउदै थिईन, अनि निगुरो टिप्दै डोकोमा हाल्दे थिईन । ”हामीजस्तो गरिब दुःखीको लागि जङ्गलको निगुरो जीवन जिउने दरिलो माध्यम बनेको छ,”निगुरो टिपेर डोकोमा हाल्दै उनले भनिन,”दिनभरी जङ्गलमा खोजेको निगुरो बेचेर ६ जनाको परिवार पाल्दै आएको छु ।” निगुराको सिजन सकिएपछि अरू बेला ज्याला मजदुरी गर्ने उनले सुनाईन ।

जंगलमा बिहानै निगुरो खोजेर बिक्री गर्नेहरुको जमात बढ्दै गयो जंगलमा । यहाँका जंगलमा उम्रिने निगुरो नै स्थानीयको आयआर्जनको गतिलो माध्यम पनि बन्दै गएको छ । मोरङ कानेपोखरीकै नरबहादुर कार्की पनि निगुरो टिपेर बल्ल भारी पुग्यो भन्दै सडकतिर निस्कने तरखरमा थिए । उनले पनि यसरी जंगलमा निगुरो टिपेर बेच्न थालेको एक दशक बितिसकेको रहेछ । ”सिजनमा त यही कामबाट मनग्गे आम्दानी गर्छु,”उनी सुनाउदै थिए । उनले टिपेको निगुरो दमक, गौरादह, गौरिगञ्ज तिरका ब्यापारीहरु आएर लैजाने गरेका रहेछन् । जंगलबाट बाहिर ल्याएर मुठा बनाउन नभ्याउदै उनले होलसेलमै सबै निगुरो बेचिहाले ।

जेठ महिनादेखी असोज महिनासम्म निगुरोको सिजन मानिन्छ । यो समयमा पूर्वका जंगलमा निगुरो भेटिन्छ । ”निगुरो टिपेर बेच्दा त कमाई राम्रै हुन्छ, तर निगुरो टिप्नेका समस्या कति छन् भन्ने अरुलाई के थाहा ?“भर्खरै जंगलबाट निगुरो टिपेर सडकमा आईपुगेर भारी बिसाउदै गरेकी सानिमाया लिम्बुले भनिन् । जंगलमा सर्पको डर, जुकाको डर । ”अनि ज्यान नै जोखिममा राखेर टिपेर ल्याएको निगुरो आफुले बेच्दा १०/१५ रुपैया मुठामा बेच्नुपर्छ, ब्यापारीले लगेर त्यही निगुरो ४०/५० रुपैया सम्ममा बिक्रि गर्छन ।”उनी झोक्किदै सुनाउदै थिईन् । निगुरो अहिले ४० देखि ५० रुपैयासम्ममा ब्यापारीले बिक्रि गर्ने गरेका छन् । यहाका जंगलमा संकलन गरिएका निगुरो पूर्वका बिभिन्न बजार तथा काठमाण्डौंसम्मपनि निर्यात हुने गरेको छ ।