इटहरी: केही साताअगाडि मात्र पनि कोशी गाउँपालिका वडा नं. ३ का ३० बर्षीय अनमोल मुखियाको हातीको आक्रमणबाट मृत्यु भयो ।

कोशी टप्पु क्षेत्रमा जनवारको आक्रमणबाट मृत्यु हुने उनी एक्ला होइनन् । हातीकै आक्रमणबाट जेठ २६ गते राति सुनसरी कोशी गाउँपालिका वडा नं. ८ का सदरुल मियाँको पनि मृत्यु भएको थियो । साउन अन्तिम साता कोशी गाउँपालिका वडा नं. ३ का ६० वर्षीय लक्ष्मी यादव हातीकै आक्रमणले गर्दा सिकिस्त घाइते भए । उनी अहिलेसम्म पूर्ण रुपमा निको भएसकेका छैनन् । यसरी जंगली हात्तीको आक्रमणबाट कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रका सर्वसाधारणको बर्षेनी मृत्यु हुदै आएको छ ।

हातीको आक्रमणबाट कोशी टप्पु र आसपासका क्षेत्रमा आर्थिक बर्ष २०७५/०७६ को अवधिमा ८ जनाले ज्यान गुमाए । ती मध्ये सुनसरी र उदयपुरका दुई–दुई जना छन् भने सप्तरीका चारजना छन् । हातीसँगै अन्य जंगली जनावरको आक्रमणबाट आरक्ष र आसपासका क्षेत्रमा मात्रै २७ जना घाइते भएका छन् । जसमा सवैभन्दा बढी सुनसरी र सप्तरीमा १३–१३ जना घाइते भएका छन् । उदयपुरमा भने एक जना घाइते भएका छन् ।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हातीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको वस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ । कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा १५ देखि २० वटा जंगली हाती रहेका छन् । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८ सय ६५ घर परिवारका ८४ हजार ४ सय २३ जना बसोबास गर्छन् ।

कोशीको समस्या विकराल छ: गाउँपालिका प्रमुख

यसैबीच कोशी क्षेत्रका मानिसको समस्या विकराल रहेको कोशी गाउँपालिकाका प्रमुख अयुव अन्सारीले बताएका छन् । ‘कोशी क्षेत्रमा बस्ने मानिसहरुको समस्या विकराल छ,’ उनले भने, ‘जंगली जनावरका कारण यहाँका जनता बिस्थापित हुनुपर्ने अवस्था छ ।’ उनका अनुसार कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने मानिसहरुको बर्सेनी जंगली जनावरको आक्रमणबाट ज्यान जाने गरेको छ ।

जंगली जनावरको स्थायी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारले आवाज नउठाएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले मात्र यसको समाधान नहुने अन्सारीले बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आँफूले ध्यानाकर्षण गराएको र संसदमा आवाज उठाउनका लागि पहल गरेको बताए । ‘हामीले यहाँका जनतालाई कहिले इनरुवामा राख्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘यसको स्थायी समाधानका लागि अहिलेसम्म संसदमा आवाज उठेको छैन ।’