धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिएस्सी नर्सिङमा पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले झुण्डिएर आत्महत्या गरिन् । उनले किन आत्महत्या गरिन् ? यो अनुसन्धानको बिषय हो । तर, प्रतिष्ठानमा आत्महत्या गर्ने उनी पहिलो विद्यार्थी भने होइनन् ।

यसअघि पनि प्रतिष्ठानमा आत्महत्याका केही घटनाहरु भएको थियो । चिकित्सा विज्ञान अध्यापन हुने प्रतिष्ठानमै किन आत्महत्या हुन्छ ? यो एउटा यक्ष प्रश्न सबैको सामु खडा छ । प्रतिष्ठानका मानसिक विभागका एसिस्टेन्ट प्रोफेसर डा.मधुर बस्नेतका अनुसार एक अध्ययनले ९० प्रतिशत बढी आत्महत्याको कारण मानसिक समस्या भएको देखाएको छ । त्यसमा पनि सबैभन्दा बढी डिप्रेशनको कारणले आत्महत्या गर्ने गर्छन् । कहिलेकही आवेगमा आएर पनि मानिसले आत्महत्या गर्छन् । ‘परीक्षामा फेल हुँदा, प्रेम विछोड हुँदा, आर्थिक नोक्सानीलगायत हुँदा पनि आवेगमा आत्महत्या गर्छन्,’डा.बस्नेतले भने,‘डिप्रेशनमा भएका मानिस पीडाबाट गुज्रिरहेको हुन्छ, र उसले त्यो पीडाबाट मुक्ति पाउने सोचेर आत्महत्या गर्छन् ।’

anjana-dev

डा. बस्नेतले मेडिकल शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु आत्महत्या गर्नुको कारणबारे पनि अध्ययन गरिरहेका छन् । उनका अनुसार मेडिकल शिक्षा अध्ययन गर्न गाह्रो हुन्छ । त्यसैले विद्यार्थीहरु अन्य बिषयमा भन्दा बढी मानसिक तनाव र दबाबमा हुन्छन् । यो बिषय पढ्ने विद्यार्थीहरु निक्कै प्रतिस्पर्धी पनि हुने भएकोले पनि दबाब हुन्छ । वीपी प्रतिष्ठान अझ फरक बिशेषता छ । ‘वीपीका विद्यार्थीहरु धेरै विविधतायुक्त हुन्छन्, यहाँ सम्पत्तिवालका छोराछोरीदेखि नेपालको कर्णाली प्रदेशका विद्यार्थीहरु पनि हुन्छन्,’डा.बस्नेतले भने,‘अनिवार्य होस्टलमा बस्नुपर्छ । किसोर अवस्था भर्खर पार गरेर आएका हुन्छन् । नयाँ ठाउँ, पढाईको चापले पनि विद्यार्थीहरु मानसिक तनाव र समस्यामा हुन्छन् ।’

प्रतिष्ठानकै चिकित्सक डा.अशोक ऐर अधिकांश विद्यार्थीहरु घर परिवारबाट पहिलो पटक टाढिएका हुन्छन्, र 'होम सिक'को अवस्थामा हुन्छन् । त्यसअवस्थामा उनीहरुलाई मनोपरामर्शको खाँचो हुन्छ । विगतमा यही आवश्यकता महसुस भएर काउन्सिलिङ पनि हुने गरेको उनले बताए । ‘पहिलो बर्षका विद्यार्थीहरुलाई केही समयअघिदेखि नै परामर्श आवश्यक देखिएकोले गरिएको पनि हो,’उनले भने,‘होम सिक र नयाँ ठाउँमा घुलमिल हुन नसक्दा डिप्रेशनमा हुन्छन्, त्यो रोग नै हो, काउन्सिलिङ गर्नुपर्छ ।’