ईलाम: ईलामको ईलाम नगरपालिका ५ छाँगाखोलास्थितमा मोटरसाईकल दुर्घटनामा परेर एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने १ जना प्रहरी जवान घाईते भएका छन् ।

आज दिउँसो सवा २ बजेको समयमा ईलाम नगरपालिका २ सुम्बेकमा झगडा भएको खबर पाएपछि घटनास्थलतर्फ जाने क्रममा दुर्घटना भएर प्रहरी सहायक निरीक्षक रबि मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ईलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत सुनसरीको ईटहरी १ घर भएका ४७ बर्षिय असई मगर र प्रहरी जवान राम सेवक मोची मोटरसाइकलमा घटनास्थलतर्फ जादै थिए । उनीहरु को १ ब २२८८ नम्बरको मोटरसाईकल लिएर जाने क्रममा बर्षाद तथा कच्ची चिप्लो बाटोको कारण मोटरसाईकल बाटोबाट अँदाजी ५०/६० मिटर तल खोलामा खसेको थियो ।

घटनाबारे जानकारी पाउँनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाटउद्दारको लागि टोली खटिएर गएको थियो । दुवैलाई उद्दार गरेर जिल्ला अस्पताल ईलाम पुर्याउनासाथ डाक्टरले असई मगरलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा परेर घाईते भएका प्रहरी जवान राम सेवक मोचीको हाल सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । प्रहरी चौकी जितपुर दरबन्दि भई अस्थायी प्रहरी बिट बिप्लाटेमा कार्यरत मोचीको घर सिराहा जिल्लाको पिडरवनी १ हो ।