आसफोर्ड(बेलायत: राज्यको धर्मविरूद्ध लागेको आरोपमा मृत्युदण्ड दिइएका साँस्कृतिक सहिदहरू रिदामा र राम्लिहाङलाई प्रवासमा पहिलोपटक स्मरण गरिएको छ ।

साँस्कृतिक अधिकारका लागि आवाज उठाउँदा मृत्यु वरण गर्न पुगेको भन्दै अभियन्ताहरूलाई उनीहरूलाई स्मरण गरेका हुन् । नेपाली समाचार डटकमले आयोजना गरेको मौलिक चाड विषयक अन्तरक्रियामा याक्थुङ साँस्कृतिक अभियानकर्मीहरूले दुई साँस्कृतिक सहिदहरूलाई १५२ औँ स्मृतिका दिवसका अवसरमा सम्झेका हुन् । सन् १८६७ मा हिन्दूहरूको चाड दसैँलाई सामाजिक रूपमा बहिष्कार गर्दा राणा शाषकहरूको आदेशमा धनकुटाका रैथाने समुदायका रिदामा र राम्लिहाङ आठपहरीयालाई चुलीवनमा लगेर झुण्ड्याइएको कथन छ । पूर्वी लिम्बुवानमा अझै पनि आठपहरीया लगायतका आदिवासी जनजातिमा दसैँ मान्ने प्रचलन कम छ । आजका दिनमा पनि यो चाड विशेषतः गैरहिन्दू र आदिवासी जनजाति समुदायमा बहसको विषय बनिरहेको छ ।

गोलमेच अन्तरक्रियामा बोल्दै किरात धर्म तथा साहित्य उत्थान सङ्घ यूकेका सल्लाहकार राजेन्द्र खिम्दिङले ०४६ को परिवर्तनपछि दसैँ मान्ने प्रचलनमा व्यापक ह«ास आएको बताए । उनले भूमि सुधार ऐन लागू भएपछि समुदायका मानिसहरू आफ्नो सँस्कृतिप्रति सचेत हुँदै गएको बताए । त्यस्तै, गायक एवम् साँस्कृतिक अभियानकर्मी ब्रबिम शेर्माले समुदायहरूबीच सहिष्णुता कायम गर्दै एक अर्काका चाडपर्वमा सम्मान जाहेर गर्नुपर्ने बताए । उनले आफू किरात धर्मावलम्बी भएको जनाउँदै आफूलले ०४६ यता आफ्नो समुदायका चाडहरूलाई प्राथमिकतामा राखेको बताए ।

यसैगरी, लिम्बु पत्रकार सङ्घ यूकेका अध्यक्ष अमित थेवेले जनजाति आन्दोलनले दसैँको प्रभाव घटाउन र मौलिकताको कुरा गर्न सहयोग पुगेको तर्क गरे । राज्यका शाषकहरूले दसैँलाई राजकीय चाड बनाएका कारण आदिवासी जनजाति, गैरहिन्दू र अल्पसङ्ख्यक समुदायहरू त्यसमा होमिएको समेत धारणा राखे । युमा साम्यो महासभा यूकेका मिडिया सचिव समेत रहेका थेवेले याक्थुङ समुदायको मौलिक पर्वसम्बन्धी राष्ट्रिय नीति निर्माण गरेर अगाडि जानुपर्नेमा जोड दिए ।

अर्का वक्ता उद्यमी तथा साहित्यसेवी जितेन्द्र चेम्जोङले दसैँलाई साँस्कृतिक नभएर राजनीतिक चाड भएको आरोप लगाए । समुदाय नभएर सत्ताले दसैँ जस्ता पर्वहरूलाई बोकेको बताए । राज्यको धर्मविशेषप्रतिको झुकावका कारण सबै समुदायले सही अर्थमा धर्मनिरपेक्षताको अुनभव गर्न नसकेको उनको गुनासो थियो । अन्तरक्रिया नेपाली समाचार डटकमका सम्पादक विश्वासदीप तिगेलाले सहजीकरण गरेका थिए ।