इटहरी: धनकुटाको अर्खौली जीतपुर गाविस १ हाल महालक्ष्मी ७ मा २००९ फागुन ३० गते जन्मिएका ज्ञानप्रसाद पौडेलले शब जलाउन थालेको ४४ बर्ष भयो ।

उनी पहाडमा हुँदा नै २०३१ सालबाट शव जलाउन थालेका थिए । २०३२ साल वैशाखमा तराई झरेपछि नि उनले जलाउने कर्मलाई निरन्तरता नै दिए । उनले हालसम्म ६३१ वटा शव जलाइसकेका छन् । ‘पहाडबाटै शव जलाउन थालेको हुँ,’उनी भन्छन्,‘कसैले खोजेको पनि हैन, चाहेको पनि हैन तर भावनात्मक हिसावले सहयोग गरेको हुँ ।’

शुरुमा शव जलाउदा उनलाई धेरै गाह्रो भएको अनुभव छ । गाउँलेहरुले आफ्नो बारेमा अनेक कुरा गर्ने गरेको पनि उनले बताए । ‘यो मानिस त जसको पनि मलामी जाँदो रहेछ, यसले १०८ पुर्याउँने अरे भनेर गाउँमा कुरा गर्दारैछन्,’उनले विगत सम्झदैँ भने । उनले शब जलाउँने बेलामा बनाउने चिता र जलाउने काम आँफू एक्लै गर्न मन लाग्ने सुनाए । ‘म पहिलादेखि नै दत्तचित्त भएर अन्तिमसम्मै काम गरिरहन्थे,’ उनले भने, ‘कति आफन्तहरुले त यसको काम नै शब पोल्ने रहेछ पनि भने तर मैले भावनात्मक हिसाबले सहयोग मात्र गरेको हुँ ।’ उनले निःशुल्करुपमा शव जलाउँन सहयोग गर्ने गरेका छन् । ‘मलाई कसैले त्यो काम गर्नुपर्छ भनेको पनि हैन, घरपरिवारले पनि नगर भनेनन्, मैले शब जलाउँने काम गरिरहेँ,’पौडेलले भने ।

एकै परिवारका सबै मानिसहरुको पनि शब जलाएको स्मरण उनीसँग छ । एकै दिन ३ वटासम्म शव जलाएका छन् । उनले जति शव जलाए, ती सबैको रेकर्ड राखेका छन् । ‘एकपटक कस्तो पनि भयो भने गर्भवती महिलाको बच्चा जन्माउन नसकेर निधन भयो, त्यो बेला बच्चासहित शव जलाउँन हुँदैन भन्ने कुरा थियो,’उनले भने, ‘गर्भवती महिलाको पेट आँफै चिरेर बच्चा र आमाको फाल्टा फाल्टै चिता बनाएर पनि जलाएँ ।’

paudel-sab

इटहरीको मुक्तिधाम घाट नजिकै घर रहेका पौडेललाई घाटमा शब राखेर पनि धेरै मानिसले सहयोग गर्न आग्रह गर्छन् । कतिले फलाना लाश पोल्ने पनि भन्छन् । तर उनलाई आफ्नो कर्मप्रति सन्तुष्टी छ । ‘मलाई मनको सन्तुष्ट छ,’उनले भने । यो बर्ष आफ्ना मानिसहरुको तीनवटा शबको मलामी जान नपाएकोमा उनलाई पश्चाताप छ ।

उनी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलका पिता समेत हुन् । उनले घाटमा बसेर शव जलाई रहदा दशकौं बित्यो, तर पनि उनलाई कहिल्यै झर्को लागेन । इटहरीमा जुटविकास तथा ब्यापार संस्थानको प्रमुख भएर काम गरिसकेका पौडलले प्रमुख पदमा हुदासम्म जलाउँने सहयोग गर्ने काम भने छोडेनन् । उनले आँफू बाँचुञ्जेल शब जलाउँने काम नछाड्ने बताए ।

पौडेलले सबैभन्दा बढी शब आर्थिक बर्ष ०७३ /७४ मा जलाए । उनले उक्त समय एक बर्षको अवधिमा ५१ वटा शब जलाएका थिए । ‘मैले धेरैजसो त अपरिचित मानिसहरुकै शब जलाएको छु, मैले यो चर्चाका लागि नभई सन्तुष्टका लागि सहयोग गरेको हुँ,’उनले भने ।