धरान: जनताको धनजनको सुरक्षा र शान्ति व्यवस्था कायम गर्न धरानमा खटिएका प्रहरीका एक जुनियर अधिकृत आफै हिरासतमा पुगेका छन् ।

एक अपांग महिलालाई बलात्कार गरेको उजुरी परेपछि धरान ४, पत्रांगबारीमा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज एवं असई पिताम्बर अधिकारी प्रहरी हिरासतमा पुगेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । यस्तै, गम्भीर आरोप लागेका अधिकारीलाई निलम्बन प्रक्रिया पनि शुरु गरेको कार्यालयले जनाएको छ । ‘करणी आरोपमा उजुरी आएकोले हिरासतमा लिएका छौं, र अनुसन्धान गरिरहेका छौं,’इलाकाका निमित्त प्रमुख हेमराज ओलीले भने,‘निलम्बन प्रक्रिया पनि शुरु भएको छ ।’

घरमा करिब १० बर्षका कान्छा छोरासँग मात्र बस्दै आएकी अपांग महिलालाई असई अधिकारीले असोज २५ गते बलात्कार गरेको आरोप छ । ती महिला बोल्न सक्दिनन् । उनको श्रीमान्को मृत्यु भइसकेको छ भने जेठा छोरा विवाह गरेर भारतमा छन् । छोरीहरुको पनि विवाह भइसकेको छ । असई अधिकारीले बलात्कार गरेको भन्दै शुक्रबार ठाडो उजुरी परेको थियो । इलाका प्रहरी कार्यालयले उनलाई त्यसअघि नै बुधबार नै कार्यालय तानिसकेको थियो । निवेदन परेपछि भने हिरासतमा राखेर अनुसन्धान शुरु गरेको हो । शनिबार बिहान घटनाबारे प्रहरीले जनप्रतिनिधिको रोहबरमा स्थलगत मुचुल्कासमेत उठाएको छ ।