धरानः सरकारको अनिवार्य १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनु पर्ने नीति अनुसार धरान–१६ स्थित सिद्धार्थ शिशु सदनले २७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
विद्यालयको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विकास सोनीले विद्यालयमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको बताए ।
विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सव विभिन्न सांस्कृतिक, शैक्षिक तथा मनोरञ्जनात्मक प्रस्तुतीकरण साथ उत्सव सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत नृत्य, शिक्षक तथा विद्यार्थीहरूको नृत्य, अभिभावकहरूको प्रतिभा प्रदर्शन, म्युजिकल चेयर, कराते तथा नाटक प्रस्तुत गरिएको थियो। साथै कक्षा प्ले–ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा विशेष छात्रवृत्ति प्रदान गरिएको थियो ।
विद्यालयले सार्वजनिक गरेको नतिजा अनुसार विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा ‘स्टुडेन्ट अफ द इयर’पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी भिषण बाबु राईले बालबालिकालाई सही दिशामा डोर्याउने जिम्मेवारी अभिभावकको भएको उल्लेख गरे।
प्याब्सन धरानका अध्यक्ष दीपक घिमिरेले छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका पहिलो हुने बताए। विद्यालयका निर्देशक विकास सोनीले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा प्ले–ग्रुपदेखि कक्षा १० सम्म प्रथम, द्वितीय र तृतीय हुने ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । कार्यक्रमको सभापतित्व विद्यालयकी प्रिन्सिपल रिता प्रधानले गरेकी थिइन् ।



























































