झापा: भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साह चोरी गरेको ठुलो परिमाणको सुन र चाँदीका गरगहनासहित झापाबाट पक्राउ परेका छन् ।

झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने ३५ बर्षीय ललिता सापकोटा, गिता पौडेल र ३५ बर्षकी मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको उजुरी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेको थियो । यो खबर पाउने बित्तिकै प्रहरी टोली सक्रिय भएर घटनास्थल आसपासमा रहेको सिसि क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्कीदै गरेको अवस्थामा साह देखिएका थिए ।

सिसिटिभि फुटेजको आधारमा उनको प्रहरीले खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड ५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहले प्रयोग गरेको WB 74 AM 2724 नम्बर प्लेटको भारतिय गाडी चेकजाँच गर्ने क्रममा लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद भएको गरगहनाहरु सम्बन्धित पीडितहरुबाट सनाखत गराएको र समानसहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।