सुनसरी:इटहरीमा मुसहर वस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।

तराई मधेश सम्वृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख वजेटमा मुसहर वस्ति विकास कार्यक्रम सञ्चालन गर्न लागेको हो । सो कार्यक्रम अन्र्तगत यो आर्थिक बर्ष कम्तीमा १५ वटा घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए । उनका अनुसार सार्वजनिक जग्गामा घर निर्माण गरेर विपन्न मुसहर परिवारलाई हस्तान्तरण गरिनेछ ।

बषौंदेखि बाटो छेउछाउ बसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको निरीक्षण पनि गरिएको छ । नगर प्रमुख चौधरी, उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्षहरु भगवानलाल साहु, दिपनारायण चौधरी, वडा सदस्य तेजनारायण चौधरीले प्राविधिक टोलीसहित जग्गा निरीक्षण गरेका हुन् । उनीहरुले वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा निरीक्षण गरिएको हो । चालु आर्थिक बर्षमा नै मुसहर वस्ति विकास कार्यक्रम अन्र्तगत घर निर्माण गरिने उपमहानगरले जनाएको छ ।