झापा: जिल्ला प्रहरी कार्यालय झापाले साढे चार लाखको बारुदजन्य पटाकासँगै १९ लाख ३० हजार मूल्य बराबरको सामग्री बरामद गरेको छ ।

प्रहरी कार्यालय झापाबाट गएको प्रहरीको टोलीले चाडपर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि कात्तिक १४ गतेसम्म पटाका, लत्ताकपडा, किराना, खाद्यान्न सामग्री गरी उक्त मूल्य बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । चोरी, निकासी गरी भित्र्याइएको सामानमध्ये १२ लाख २२ हजार पाँच मूल्य बराबरको लत्ताकपडा र किराना, दुई लाख ५३ हजार पाँच सयको खाद्यान्न (मटर, सुख्खा सुपाडी, चुरोट, खैनी) र चार लाख ५४ हजारको पटाका बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

बरामद गरिएको लत्ताकपडा, किराना, खाद्यान्न सामग्रीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी र भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । त्यस्तै तिहार तथा छठ पर्वलाई लक्षित गरी भद्रपुर, काकँरभिट्टा, कुटी लगायतको नाकाबाट भित्र्याइएको पटाकालाई प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन मार्फत नष्ट गरिएको छ । बरामद गरिएको पटाकालाई खाल्डो खनी पानी हालेर नष्ट गरिएको थियो ।