सुनसरी: धार्मिक नगरी सुनसरीको बराहक्षेत्र २ मा तिरुपति बालाजी दिव्य धाम निर्माण हुने भएको छ ।

यो मन्दिर भारतको आन्द्र प्रदेसमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरुपमा निर्माण गरिने भएको छ । उक्त मन्दिरको बुधबार एक कार्यक्रमबीच प्रदेस नम्बर १ का कानुन मन्त्री हिकमत कार्कीले शिलान्यास गरेका छन् । बराहक्षेत्रको पुनर्वासमा रहेको बेंकटेश रामानुज सत्संग मन्दिर रहेको क्षेत्रमा यो मन्दिर निर्माण गरिनेछ । तिरुपति मन्दिर भारतमा रहेको मन्दिरकै शैलीमा निर्माण हुने निर्माण कार्य समितिले जनाएको छ ।

मन्दिर निर्माणमा सहयोग जुटाउन अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायतमा समेत उपसमिति बनाइएको निर्माण समितिका अध्यक्ष स्वामी हरि प्रपन्नाचार्यले जानकारी दिए । भारतमा रहेको तिरुपति बालाजीमा रहेका मन्दिरका कलाशैली, टुडाँलसम्म पनि सोही शैलीमा बनाउन कालीगढ समेत भारतबाटै ल्याइने उनले बताए । समितिका सहअध्यक्ष गुरुप्रसाद सुवेदीले १५ करोड लागतमा आगामी पाँचमा निर्माण सम्पन्न गर्ने गरी काम शुरु भएको जानकारी दिए । तिरुपति बालाजी दिव्य धाम निर्माणका सम्पन्न भएपछि यस क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकसित हुने विश्वास गरिएको छ ।