खाँदबारी : संखुवासभाको चिचिला गाउँपालिका-१ मा बिहीबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी भोटखोला गाउँपालिका-५ का २२ वर्षीय ट्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम खाँदबारीबाट सामान लिएर मकालुको नुम तर्फ गइरहेको ग १ त ४१६४ नं को ट्याक्टर कुवापानीमा अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको र घटनास्थलमै चालक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताए । तामाङको शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।