धरान : देवऋषि आचार्य समाजले पूर्वमन्त्री एवं कांग्रेस नेता महेश आचार्यको प्रमुख आतिथ्यतामा सोमबार विशेष भेलाको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै पूर्वमन्त्री आचार्यले आफू पनि देवऋषि आचार्यको वंशज भएकोमा गौरवान्वित महसुस गरेको भन्दै समाज र यसले गर्ने कार्यक्रमले धरान र आसपासका स्थान लाभान्वित हुनु पर्ने बताए । आचार्य समाजले आगामी दिनहरुमा गर्ने सामाजिक कामहरुलाई उत्कृष्ट बनाउन आफू जस्तो पनि सहयोग गर्न तयार रहेको बताउँदै नेता आचार्यले पारिवारिक एकताको माध्यमबाट समाजलाई उल्लेखनीय केही दिन सकिने रहेछ भन्ने उदाहरण बन्न आचार्य समाजलाई आग्रह गरे ।

सोही कार्यक्रममा कौडिण्य गोत्री आचार्य महिलाहरुलाई संगठित गर्दै उनिहरुको सामाजिक भावना र नेतृत्व बिकास गर्दै सत्कर्ममा अगाडी बढेको कौडिण्य गोत्री आचार्य महिला समाजलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरीएको थियो ।

सम्मानित भएपछी बोल्दै महिला अध्यक्ष अम्बिका आचार्यले धन्यवाद व्यक्त गर्दै प्रशंसापत्रले आफूहरुलाई सामाजिक क्षेत्रमा काम गर्न थप उर्जा र उत्प्रेरणा प्राप्त भएको बताईन् । देवऋषि आचार्य समाजका सचिव विकास आचार्यले आफ्नो स्थानको विकासमा संगठित र संस्थागत योगदान गर्न पारिवारिक एकता अनिवार्य रहेको र आफ्नो पुर्खाको कृतिलाई भविश्यको सन्ततीहरुले समेत देखुन् भनेर त्यस्ता किर्तीको संरक्षण गर्न, लोप भएका किर्तीको पुनर्निर्माण गर्न, थाहा नभएका किर्तीको खोजी गर्न र वर्तमानमा समाजलाई पुनः पुर्खा र अग्रजले जसरी योगदान दिन समाज गठन गरिएको बताए । कार्यक्रम समाजका तदर्थ समितिका संयोजक राजेश आचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।