झापाः झापाको दमक र गौरादह नगरपालिका पछिल्लो समय लागुऔषध कारोबारीको हब बन्दै गएको छ ।

लागुऔषध कारोबारीको हब बन्दै गएपछि झापाको दमक र गौरादह प्रहरीले कारोबारीबिरुद्ध बिशेष अभियान नै चलाएको छ । प्रहरीले झापाको दमक र गौरादहबाट २ जना कारोवारीलाई पक्राउ गर्न सफल भएको छ । झापाको दमक तथा गौरादहमा लागूऔषधसहित पक्राउ गरिएका व्यक्तिहरुलाई प्रहरीले बिहिबार दमकमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएको लागुऔषध सहित उनीहरुलाई सार्वजनिक गरेको हो । गत कार्तिक २५ गते गौरादह ३ बाट सोहि स्थानका ३२ वर्षिय सुनिल बरालबाट ३५२ दशमलब ३१ ग्राम खैरो हेरोईन बरामद गरेको दमक प्रहरी प्रमुख विजयराज पण्डितले जानकारी दिए । त्यसैगरि सोही दिन दमक ४ को भान्जा होटलबाट पनि भारतीय नागरिक रिन्टु सेखबाट २ सय १७ ग्राम खैरो हेरोईन बरामद गरेको झापाका प्रहरी प्रबक्ता महेन्द्र श्रेष्ठले बताए ।

उनीहरुबाट बा ३ च ९२५५ नम्बरको कार त्यसैगरि बा ८१ प ६२४० नम्बरको स्कुटर, मोवाईल सेट, तथा नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । झापामा प्रहरीले लागूऔषध बिरुद्ध कडा कदम चालेकाले कारोवारीहरु धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनालीको भनाइ छ ।