पोखरा : कास्की क्षेत्र नं. २ को मतदानस्थल नजिकै आज बिहान बम बिस्फोट भएको छ ।

पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र बिस्फोट भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले मतदानस्थल नजिकै बम विस्फोट भए पनि यसमा कसको संलग्नता छ भन्ने नखुलेको जनाएको छ ।