इटहरी: इटहरीका मनिष पोखरेल शनिबार धरानमा छटपटाईरहेका थिए । इटहरी आउँनका लागि न त कुनै सवारी थियो, न अन्य मानिस नै ।

‘वीपी हस्पिटलमा हिजो बेलुका आएको थिएँ, अहिले फर्कनका लागि कुनै सवारी साधन नै छैन,’ उनले भने, ‘चुनाव हुनु त जनताको लागि सुविधा भनेको अहिले देखि नै असुविधा हुन थाल्यो ।’ चुनाव हुनु सकारात्मक भएको भएपनि सवारी सञ्चालनमा रोक लगाउनाले यात्रुले सास्ती बेहोर्नुपरेको उनको भनाई रहेको थियो ।

इटहरीबाट धनकुटा जानका लागि आफ्नै मोटरसाईकल भएको भएपनि निर्वाचनका कारण अाँफूहरु जान नपाएको धनकुटाका भरत थापाले गुनासो गरे । उनले भने, ‘बिराटनगरमा कामका लागि आएका थियौँ, तर तरहराबाट उभो जान नपाएपछि अलपत्र अवस्थामा छौँ ।’ उनले निर्वाचन हुने ठाउँमा मात्र सवारीमा रोक लगाउँदा अन्य ठाउँमा पुग्ने मानिसहरुका लागि सहज हुने तर्क गरे । व्यक्तिगत सवारी हुँदा पनि सकारात्मक रुपमा सवारी चलाएर जान नपाउँदा आँफूहरु समस्यामा रहेको उनको भनाई रहेको थियो ।

strike1

यी माथिका दुईजना प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै बिचल्लीमा परेका सयौँको संख्यामा थिए । धेरैजसो यात्रुहरुले शनिबार तरहरादेखि धरानसम्मको १५ किलोमिटरको दूरी हिडेँरै पार गरे । यात्रुहरु इटहरीबाट धरान तथा धनकुटा जानका लागि मात्र समस्यामा परेका हैनन् । धरानबाट इटहरी तथा बिराटनगर जानका लागि पनि समस्या रह्यो । निर्वाचन हुने मुख्य क्षेत्रमा सुरक्षाकर्मी तैनाथ रुपमा राखिएको भएपनि मुख्य राजमार्गमा समेत तरहराबाट धरानसम्म सवारी साधनमा रोक लगाईएको थियो ।

एम्बुलेन्स, बारुण यन्त्र, निर्वाचन आयोगबाट पास भएका सवारी मात्र सञ्चालन भएको थियो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डरीज न्यौपानेका अनुसार शनिबार साँझ ७ बजेबाट मात्र सवारी साधन सञ्चालन गरिनेछ । शनिबार धरानको उत्तरमा सिमाना पर्ने धनकुटाको भेडेटार, दक्षिण क्षेत्रमा सिमाना पर्ने तरहरा, पूर्वमा मोरङको चोक्टी, र पश्चिममा बराहक्षेत्रको नडाहामा धरान आउँने सवारीमा रोक लगाईएको थियो ।