सुनसरी: इटहरी उपमहानगरले लैङ्गिक हिंसा न्यूनिकरणका १६ दिने अभियानको क्रममा दुई दर्जन कार्यक्रम सम्पन्न गरेको छ ।

अभियानकै क्रममा इटहरीमा भोली मंगलबार विहान ८ वजेदेखि लैगिंक हिंसाविरुद्ध इटहरी सम्मेलन पनि हुनेछ । उपमेयर लक्ष्मी गौतमका अनुसार दुर्गापार्टी प्यालेसमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गर्नेछन् । सम्मेलनमा इटहरीका तीनसय जनाको सहभागिता रहने छ । गत एक बर्षको अभियानको समीक्षा गर्दै आगामी एक बर्षे कार्ययोजना तयार गर्दै सम्मेलनले इटहरी घोषणा पत्र तयार गर्ने छ । सम्मेलनमा इटहरीको लैङ्गिक हिंसाको अवस्थाको वारेमा उपमेयर गौतमले प्रतिवेदन प्रस्तुत गर्नेछिन् । प्रतिवेदन तयारीका लागि इटहरीको सवै वडाहरुमा प्रश्न पठाएर सर्वेक्षण गरिएको छ ।

यसबर्षदेखि सुरु हुने लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई प्रत्येक बर्ष निरन्तरता दिइने उपमेयर गौतमले वताइन् । इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपलब्धिमूलक र परिणाममुखी कार्यक्रमहरु संचालन गरिएको उनले बताइन् । देशभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको वेला इटहरीमा भने गत बर्ष देखि बार्षिक अभियान चलिरहेको छ । अभियानलाई घर घर पुरयाउनका लागि इटहरीका सवै वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध प्रतिरक्षा समूह गठन गरिएको छ । प्रतिरक्षा समूहका पदाधिकारीलाई पाँच दिने तालिम समेत दिइएको छ । एउटा वडाको तीन वटा वस्तिहरुमा वालिका किशोरीहरु रहेको साथी समूह गठन गरिएको छ । इटहरीका सवै वडाहरुमा गरि ६० वटा साथी समूह गठन गरिएको छ ।

साथी समूह र प्रतिरक्षा समूहले वडा लैङ्गिक हिंसाका वारेमा चेतना फैलाउने छन । उनीहरुले लैङ्गिक हिंसा हुनै नदिन आधारभूत तहसम्म सचेतना अभियान पुरयाउने छन । हिंसा भइहाले पीडितलाई न्यायको पहुचमा पुरयाउन सहयोग गर्नेछन् । साथी समूहका सदस्यहरु त्यहाँका हरेक ब्यक्तिको साथीजस्तै भएर काम गर्नेछन,उनीहरुले त्यहाँको जानकारी उपमहानगरमा र उपमहानगरको जानकारी समूदायमा पुरयाउने छन् । समाजमा सवैले सम्मानपूर्वक वाँच्न पाउने अवस्था सृजना गर्नका लागि साथीसमूहले भूमिका खेल्नेछन । साथीसमूह र प्रतिरक्षा समूहका सदस्यहरुको संयोजनका लागि साथी शिक्षकहरुको ब्यवस्था गरिएको छ । समाजसेवामा रुची भएका युवालाई दुईदिनको तालिम दिएर स्वयंसेवी रुपमा प्रत्येक वडामा एक एक जनाका दरले परिचालन गरिएको छ ।