बिराटनगर: १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५४ औं वार्षिकोत्सव बिविध कार्यक्रम आयोजना गरी आज शुक्रबार सम्पन्न भएको छ ।

प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा भव्य समारोहबीच प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक(डिआइजी) ठाकुर प्रसाद ज्ञवाली प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । डिआइजी ज्ञवालीले तालिम केन्द्र व्यवासायिक प्रहरी उत्पादनको उद्गमस्थल भएको उल्लेख गर्दै नेपाल प्रहरी संगठनको आवश्यकता अनुरूपको हजारौं सक्षम जनशक्ति उत्पादन गरिसकेको बताए । यो तालिम केन्द्र वि.स.२०२२ सालमा स्थापना भएको हो ।

डिआइजी ज्ञवालीले भोलीका चुनौती र आवश्यकताहरूलाई सम्वोधन गर्न सक्ने आधुनिक प्रशिक्षण पद्दतिको विकास गरी सुयोग्य जनशक्ति उत्पादन गर्न तालिम केन्द्रले उल्लेखनीय भुमिका खेल्नु पर्ने बताए । साथै उनलले समयानुकुल प्रहरीलाई दिईने तालिममा समेत परिवर्तन गर्दै नागरिकमुखी प्रहरी उत्पादनमा जोडदिनु पर्ने समेत बताए ।

अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै डिआइजी ज्ञवालीले तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भविष्यमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने धारणा राखे । वार्षिकोत्सवकै अवसरमा तालिम केन्द्रले उत्कृष्ट काम गर्ने ४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । यस्तै, बाह्य प्रशिक्षकको रुपमा सहयोग गर्ने पुर्व प्रहरी निरीक्षक देवेन्द्र बोगटीलाई पनि नगद पुरस्कार तथा सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उनीहरुलाई डिआइजी ज्ञवालीले नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

dig

सोही अवसरमा महिला तथा पुरुष रस्साकस्सी, म्युजिकल चेयर तथा हण्डीफोर र पिलो फाइटमा प्रथम तथा द्धितीय खेलाडीहरुलाई समेत डिआइजी ज्ञवालीले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा फुटवल, बास्केटबल र महिला तथा पुरुष २ माईल दौड तर्फका बिजेता तथा उप(बिजेता खेलाडीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कडेलले पुरस्कार बितरण गरेका थिए भने टेबुल टेनिस, ब्याडमिन्टन तथा बाधापार प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई सशस्त्र प्रहरी गण मुख्यालय रानीका गणपति सुदिपराज भण्डारीले पुरस्कृत गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सहसमादेशक प्रहरी नायव उपरीक्षक सुनिल कुमार दाहालले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका ७५ हजार २ सय १ जना प्रहरी अधिकृत तथा जवानहरु प्रशिक्षित गरिएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम कडेलले धन्यवाद मन्तव्य राख्दै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्षम, ब्यवसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेको बताए । यसको लागि प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धीमुलक बनाउने कार्यमा तालीम केन्द्र निरन्तर अगाडि बढेको पनि बताए ।