धरान: धरान १३ स्थित सुर्यमार्ग आमा समुहले शनिबार विहान विष्णुपादुका मन्दिरको सफाइ गरेका छन् ।

स्थानीय बिष्णु श्रेष्ठको नेतृत्वमा धरान १३ को सुर्यमार्ग आमा समुहले मन्दिरको सरसफाइ गरेका हुन् । केही महिना अघि मात्र गठन भएको समुहमा आबद्ध २९ जना महिला दिदीबहिनीहरु मन्दिर सरसफाइमा सहभागी बनेको सहभागी मध्येकी रमा तामाङले बताइन् ।

पौष शुक्ल औशीका दिन पितृहरुलाई पिण्ड तर्पण गर्ने भक्तजनहरु आउछन् । त्यसैले मन्दिरको सरसफाइमा जुटेको तामाङको भनाइ थियो । ‘पौषे औशीका दिन आफ्नो पितृहरुको नाममा पिण्ड तर्पण गर्न भक्तजनहरु आउछन्, त्यसैले मन्दिर सफा राख्नुपर्छ भनेर सफाइ गर्न गएका हौं ।’ उनले भनिन् । मन्दिरसम्म पुगेर फर्किने गाडीको व्यावस्था धरान १३ नम्बर वडा कार्यालयले गरिदिएको थियो । श्रेष्ठको नेतृत्वमा गतवर्ष पनि मन्दिरको सफाइ गरिएको थियो ।

विष्णुपादुका मन्दिर धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्छ । धरानको मंगलबारेदेखी करिब ४ किलोमिटरको कच्ची सडक छिचोलेर मन्दिर पुग्न सकिन्छ । विष्णुपादुका मन्दिर भगवान बिष्णुले पहिलो श्राद्ध गरेको भन्ने पुराणमा उल्लेख छ । प्रत्येक वर्ष पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरुलाई पिण्ड तर्पण गर्न र जनै फेर्नको लागि लागि पूर्वका विभिन्न जिल्लाहरुसंगै छिमेकी मुलक भारतबाट पनि हिन्दुधर्मावलम्बीहरु आउने गर्दछन् ।