धरान(डेस्क): ट्रेलरको ठक्करले अटोचालक र यात्रुको घटनास्थलमा मृत्यु भएपछि स्थानीयाबासीले गरेको चक्काजाम साँझ खुलेको छ ।

धनकुटाका सिडिओ डा.कृष्णबहादुर घिमिरेको उपस्थितिमा स्थानीयबासीसँग भएको छलफलमा मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि चक्काजाम खुलेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता तथा डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार क्षतिपूर्तिको सहमतिपछि बेलुकी ७ बजेतिरबाट सडक खुलेको हो । सडक खुलेसँगै यातायात सुचारु भएको छ ।

दिउँसो ट्रेलरको ठक्करबाट अटो चालक धनकुटा नगरपालिका २ का २५ बर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका १ का ४२ बर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो । दिउँसो करिब १२ बजे धनकुटा छथर जोरपाटी २ फलैचास्थित कोशी लोकमार्गमा यो घटना भएपछि सडक अवरुद्ध भएको थियो ।

स्थानीयबासीले कोशी लोकमार्ग अन्र्तगत जोरपाटीमा सडक अवरुद्ध गरेपछि यात्रुहरुको विचल्ली भएको थियो । चक्काजामले तेह्रथुम, संखुवासभाबाट आवातजावत गर्ने सवारीसाधनहरु ठप्प भए पछि यात्रुहरु पैदल धनकुटा सदरमुकामसम्म गर्न बाध्य भएका थिए । 'क्षतिपूर्ति दिने सहमतिमा चक्काजाम खुलिसकेको छ, मृतकको शव उठाएर पोष्टमार्टम गर्न जिल्ला अस्पताल लगिएको छ,'डिएसपी श्रेष्ठले भने,'प्रहरीले वल प्रयोग नगरी छलफलबाट नै सडक खुल्यो ।'