काठमाडौं : मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ ।

बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ । प्रहरीसहित चार गम्भीर घाइते भए । शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो । कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ ।

सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन् । मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो । कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो । शुक्रबार मध्यरातमा धनुषाको महेन्द्रनगरका राजेश साहको घरमा बम पड्कियो । बिस्फोटमा परेर इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश र उनका स्कूले छोरा आनन्दको ज्यान गयो । प्रहरीसहित चार घाइते भए घटनाले राजेश र प्रहरी इन्स्पेक्टरको घरपरिवार भावविह्वल भएका छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट