धरान: आइतबार राती धरान ८ तीनकुनेबाट भारतीय नम्बर प्लेटको कारबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राती करिब ९ बजे इटहरीबाट धरान आइरहेको डब्लुबि ७४ एएफ३१४९ नम्बरको भारतीय कार चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । हेरोइनसहित प्रहरीले प्रहरीका अनुसार झापा जिल्लाको मेचीनगर ४ का ३६ बर्षीय राजेश कुमार दाहाल र मेचीनगर ६ का २६ बर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको हो । कारमा सवार दाहालले कम्मरको पेटीमा लुकाई राखेको प्लाष्टिकबाट खैरो हेरोइन फेला परेको प्रहरीको भनाई छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार प्लाष्टिकमा पोका पारेको ३ पोका भेटिएको थियो । उक्त पोकालाई तौल गर्दा जम्मा २२.३३ ग्राम खैरो हेरोईन भेटिएको उनले जानकारी दिए । हेरोइन फेला परेपछि दाहाल र कारमा सवार शेर्पालाई पनि नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।