मेडस्टोन(बेलायत): यूकेमा बसोबास गरिरहेका याक्थुङ समुदायले पहिलोपटक आफूले खरीद गरेको चुम्लुङ देनमा चासोक तङ्नाम मनाएका छन् ।

समुदायले मान्ने सबैभन्दा ठूलो चाडका रूपमा रहेको चासोक तङ्नामलाई याक्थुङ चुम्लुङ यूकेले मेडस्टोनमा रहेको चुम्लुङ देनमा भव्य कार्यक्रम आयोजना गरेर मानेको हो । चुम्लुङ यूकेले गत जुलाई १३ का दिन सिसेक्पा तङ्नामका अवसरमा एक भव्य कार्यक्रमबीच खरीद गरेको २५.३३ एकडको चुम्लुङ देन उद्घाटन गरिएको थियो ।

नयाँ अन्नबाली पाकिसकेपछि ग्रहण गर्नुअघि सर्वशक्तिमान तागेरानिङ्वाफुमाङ युमामाङ र पितृहरूलाई चढाउने याक्थुङ(लिम्बु) समुदायमा प्रचलन रहेको छ । यस पर्वलाई राई समुदायले साकेला उधौली, याक्खा समुदायले चासुवा, सुनाुवार समुदायले फोल ष्याँदर, थामी समुदायले भूमे पूजा, नेवारी समुदायले योेःमरी पुन्ही, भुजेल समुदायले भुजेली पर्व र खस आर्य समुदायले धान्य पूर्णिमका रूपमा मनाउने गर्दछ ।
चासोक थिसोकका रूपमा लिम्बुवानका गाउँघरमा प्रचलित रहेको न्वागी पूजा पछिल्लो दुई दशकयता वैकल्पिक चाडका रूपमा संसारभर रहेका याक्थुङ समुदायले मनाउँदै आएको चुम्लुङ यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले बताए । उनले समुदायको चाड ऋतु परिवर्तन र खेतीपातीसँग सम्बन्धित हुने गरेको समेत जोडे । यूकेमा पहिलोपटक आफ्नै जग्गामा चासोक पूजा गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए ।

chasok-uk1

यसअघि औपचारिक कार्यक्रम सुरु हुनुअघि फेदाङ्मा पदम सम्बाहाङ्फेले मौलिक याक्थुङ विधिअनुसार सावा येत्हाङको मुन्धुम वाचन गरेर पूजा सम्पन्न गरेका थिए । चुम्लुङ अध्यक्ष सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू सिरी साम्यू, डम्मर सिङ्गक, काजीमान यक्सो, दिलसिङ मेन्याङ्वो, केन्द्रीय सल्लाहकार नरकुमारी वनेम, नेपालबाट बेलायत भ्रमणमा आएकी गायिका मनु नेम्वाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । महासचिव गणेश इजमले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य, सुरक्षासम्बन्धी जानकारी उपाध्यक्ष नरवीर आङ्वो र उपाध्यक्ष छत्र वनेमले चासोक तङ्नामको महत्वबारे प्रकाश पारेका थिए ।

सो अवसरमा यस वर्ष सिसेक्पा तङ्नामको केलाङ प्रतियोगिताका विजेता आसफोर्ड केलाङ समूहले केलाङ(च्याब्रुङ नाच) प्रस्तुत गरेको थियो । यसैगरी, सो अवसरमा चुम्लुङका आजीवन सदस्य र चुम्लुङ देनका सहयोगदाताहरूलाई परिचय पत्र समेत प्रदान गरिएको महासचिव इजमले जानकारी दिए ।