इटहरी : सुनसरीको इटहरीमा २ मा रहेको महिलाद्वारा सञ्चालित माया घर नेपालको वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सडकमा वेवारिसे रहेका, मानसिक सन्तुलन गुमाएका लगायतकालाई माया दिने उद्देश्यले माया घर सञ्चालनमा रहेको हो । २०७४ सालबाट सञ्चालनमा आएको माया घरमा हाल सम्म १२३ जनाले आश्रय लिई सकेका छन् भने ८२ जनालाई पुर्नस्थपना गराईसकेको र ४१ जनालाई परिवारसँग पुर्नमिलन गराएको प्रतिवेदन संस्थाकी अध्यक्ष राधिका दासिले जानकारी गराईन् । माया घरमा विभिन्न १७ वटा जिल्लाका मानिसहरुले आश्रय पाईरहेको अवस्था रहेको अध्यक्ष दासिले बताएकी छिन् ।

वार्षिक प्रतिवेदन अनुसार हाल सम्म १४२ जना आजीवन सदस्य रहेको, विभिन्न समयमा जन्मोत्सव मनाउनेको संख्या २४ जना, एक छाक भोजन खुवाउने ९ जना रहेको छ । माया घरमा विभिन्न व्यक्तिसंगै प्रहरीले पनि ३५ जना वेवारिसेलाई माया घरमा बुझाएको तत्थ्यांक रहेको छ । माया घरले धेरैलाई माया प्रदान गरे पनि आवश्यक भौतिक संरचना नहुँदा समस्या भएको भन्दै आगामी दिनमा एक सय जना क्षमता भएको भवन निमार्ण गर्ने, एक करोड बराबरको अक्षय कोष खडा गर्ने लगायतको लक्ष्य रहेको अध्यक्ष राधिका दासिले आगामी योजना प्रस्तुत गरेकी थिईन । कार्यक्रमका प्रमुख अतिथि प्रदेश एकका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले प्रदेश एकमा रहेको माया घर गौरवको विषय भएकाले यसको विकासका लागी मन्त्रालयले पहल गर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्नेलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा प्रदेश उपसभामुख सरस्वति पोखरेल, इटहरी उपमहानगरपालीकाकी उपप्रमुख लक्ष्मी गौतम लगायतको उपस्थिति रहेको थियो ।