बिराटनगर:  विगत केही दिनदेखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको छ । सर्वसाधाणहरु मानिसलाई चिसोले समस्या बनाएको बुझेर १ नं प्रदेश प्रहरीले आफ्नो मातहतको सबै जिल्लाको विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश प्रहरीले सर्वसाधारणहरुको लागि आगो ताप्ने व्यवस्था गरेको हो । आम नागरिकहरुलाई न्यानोको अनुभूति दिलाउन सबै प्रहरी कार्यालयहरुलाई स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाउन निर्देशन दिएको प्रदेश प्रहरी कार्यालयको भनाई छ । यो निर्देशनसँगै विभिन्न प्रहरी कार्यालयहरुले स्थानीय तहसंगको समन्वयमा बिभिन्न स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएका हुन् ।

आज मात्र तराईका झापा, मोरङ र सुनसरी जिल्लाका ३ सय भन्दा बढी स्थानमा आगो बालेर ताप्ने ब्यबस्था मिलाईएको छ । ती स्थानहरुमा ठुला ठुला मुढा तथा दाउराहरु बालेर सर्वसाधारणहरुलाई न्यानोको अनुभुती हुने गरी ताप्ने ब्यबस्था मिलाईएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।