शरीरलाई आवश्यक खाना र पोषक तत्वको अभावमा शरीर कमजोर हुने गर्छ । यसले बच्चा दुब्लो–पातलो हुने र रोगको संक्रमण छिटै हुने समस्या निम्त्याउँछ । बच्चालाई पर्याप्त स्तनपान गराउन जरुरी हुन्छ । यसले साना बच्चाको पोषणमा निकै सहयोग गर्दछ । बच्चाको नियमित हेरचाह जरुरी छ । उनीहरूलाई नियमित ताजा फलफूल, हरियो सागसब्जी, प्रोटिनयुक्त खानेकुरा खुवाउनुपर्छ ।

रोग तथा संक्रमण

कतिपय बच्चामा विभिन्न रोगको संक्रमणबाट समेत कुपोषण भइरहेको हुन्छ । बालबालिकाको नियमित स्वास्थ्य परीक्षण नगराउँदा, सरसफाइमा ध्यान नदिँदा यस्ता समस्या देखिन्छन् । खासगरी, विकट क्षेत्र वा स्वास्थ्यसम्बन्धी चेतना कम भएका ग्रामीण क्षेत्रका बालबालिका यस्तो समस्याबाट प्रभावित हुन्छन् ।

पोषणसम्बन्धी ज्ञान आवश्यक

पोषणसम्बन्धी ज्ञान नहुँदा धेरैमा कुपोषणको समस्या हुने गरेको पाइन्छ । खासगरी बजारको खानेकुरा, जंकफुड आदि बढी खुवाउने प्रवृत्ति, पोषणको नाममा बाँडिने प्याकेटको खानेकुराले समेत कुपोषण बढाएको पाइन्छ ।

कुपोषणका कारण बालबालिका छिटै रोगी हुने, शरीरको तापक्रम एकदमै कम हुने समस्या देखिन्छन् । खासगरी, बच्चाको शारीरिक तथा मानसिक विकासमा बाधा पुग्छ । समयमा नै उपचार सम्भव नभए अकालमा मृत्यु हुने सम्भावना उच्च रहन्छ । त्यसैले बच्चालाई कुपोषणबाट जोगाउन उनीहरूको पर्याप्त हेरचाह गर्नुपर्छ । -नयाँ पत्रिकाबाट