बाके : नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनास्थित महाराजा माध्यमिक विद्यालय परिसर र इस्लाम धर्मावलम्बीको दाहसंस्कार गर्ने श्मशानघाट (कब्रस्तान)को पर्खाल जोडिएको छ ।

विद्यालय आउने_जाने छात्रछात्रा यही कब्रस्तान छिचोलेर विद्यालय जानुपर्छ  । शमशानघाटलाई चारैतिरबाट पर्खालले घेरिएको छ, तर पर्खाल होचो भएकाले कक्षाकोठामा बसेर पढ्दा वा खेलमैदानमा खेल्दा कब्रस्तानमा गाडिएका चिहान र अन्तिम संस्कारका लागि ल्याएका शव प्रस्टसँग देखिन्छ । विद्यालयनजिकै कब्रस्तान हुँदा त्यहाँ हुने गतिविधिले विद्यार्थीमा मनोवैज्ञानिक असर परेको छ ।

विद्यालय चलिरहेका वेलासमेत अन्तिम संस्कारका लागि शव ल्याउने र शमशानघाटका चिहान प्रस्ट देखिने भएकाले विद्यार्थीमा त्रास उत्पन्न हुने गरेको छ । तर, यो प्रक्रिया वर्षौँदेखि चल्दै आएको छ । ०६३ अघि इस्लाम धर्मावलम्बीले विद्यालयको मुख्य द्वारअगाडि शव गाड्थे ।

यसले विद्यार्थी र शिक्षकलाई असहज भएपछि विद्यालयले आफ्नो जमिन दिएर उत्तरतर्फ श्मशानघाट सार्न अनुमति दिएको थियो । -नयाँ पत्रिका दैनिकबाट