धरान: प्रहरीले धरान र झापाको मेचीनगरबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरानको तीनकुने चेकपोष्टबाट धरान ८ का ५१ बर्षीय राजु बुढाथोकीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट तीनकुनेमा चेकिङको क्रममा इटहरीबाट धरान आइरहेको टेम्पोमा सवार बुढाथोकीसँग लागुऔषध भेटिए पछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट ९४ एम्पुल लुपिजैसिक, डाईजेलाप र फेनारगनलगायत भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, झापाको मेचीनगर नगरपालिका ७ का २४ बर्षीय खडगबहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्की पनि लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । दुवैलाई हिजो बेलुका साढे ७ बजे मेचीनगर ६ स्थित सिमाना क्षेत्रबाट ६ सय मिलिग्राम ब्राउनसुगरसहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई कानुनी कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यायलले जनाएको छ ।