काठमाडौं : युवतीलाई बलि चढाउन भारत लैजान लागेको आशंकामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीले ६ जनालाई विराटनगर र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरुलाई तीन दिनको विशेष अप्रेसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । काठमाडौंमा एक फेसन हाउस सन्चालन गर्दै आएकी ती युवतीलाई मोडलिङको अफर गर्दै भारत र्पुयाउने योजना रहेको प्रहरीको दावी छ ।पीडित युवतीले शंका लागेर प्रहरीलाई उजुरी गरेपछि गिरोह फेला परेको हो । गिरोहले भनेअनुसार युवतीलाई काम गर्न लगाएर प्रहरी पछिपछि लागेको थियो । तर एकपछि अर्को बहाना बनाउँदै सिमा कटाउन खोजेपछि प्रहरीले गिरोहका सदस्यलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीमा पीडित युवतिले दिएको जाहेरीअनुसार गत साता चिनेजानेकै एक महिलाले उनलाई मोडलिङका लागि अफर गरेकी थिइन् । यसअघि ती महिलासँग उनले काम गरिसकेकी थिइन् । विराटनगरमा हुने कार्यक्रमका लागि प्रस्ताव आएपछि उनले ती महिलालाई भेटौँ न त भनिन् । पाँच युवक लिएर आएकी ती महिलासँगको भेटमा उनको उचाईबारे चासो राखिएको थियो ।

उनिहरुले ६ फिट उचाईको युवती चाहिएको भन्दै उचाई नाप्न थाले । पाँच फिट ११ इन्च उचाई देखिएपछि युवकहरुमध्येका एकले हामीलाई चाहिएकै उचाई भेटियो भन्दै मख्ख देखिए । युवती पनि खुसी भइन् । त्यसपछि उनिहरु छुट्टिए । त्यसपछि तिनै युवकहरुमध्येका एकले बारम्बार फोन गर्दै प्रोजेक्टबारे कुरा गर्न थाले । एक साताअघि, साँझ ती युवकले फोन गर्दै मासु–रक्सी खान्छौँ कि खान्नौँ ? महिनावारी भएको छ कि छैन ? भनेर सोधे ।

युवती अचम्ममा परिन्। मोडलिङ गर्न यी प्रश्नहरुको कुनै सम्बन्ध थिएन । उनलाई त विराटनगरमा मोडलिङ गर्ने भनिएको थियो। युवतीलाई मनाउने प्रयत्न गर्दै ती युवकले भने, ‘नेपाल–भारत बोर्डरतिर गएर पूजा पनि गर्नुपर्छ ।

डकुमेन्ट्री पनि बनाउनु छ ।’ ती युवकले बहाना बनाउन थालेको युवतीलाई महसुस हुन थाल्यो । अझ पूजा गर्दा भारतीय र कोरियन पनि आउने भनेपछि आफूलाई सुरुमा गरिएको प्रस्ताव र अहिले गरिएको प्रश्नमा कुनै तालमेल देखिनन् । कुनै गलत काम पो हुन लागेको हो की भन्दै शंका गर्न थालिन् । अनि पुगिन् प्रहरी कहाँ । -नयाँ पत्रिका दैनिकबाट