संखुवासभा : पछिल्लो समय पहाडी जिल्लाका स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्ने क्रम बढेको छ । अज्ञात समूहले संखुवासभा, भोजपुर, खोटाङलगायत प्रदेश १ का विभिन्न स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्न क्रम रोकिएको छैन ।

प्रहरीले बिष्फोट र आगजनीका घटनामा संम्लग्न दोषीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन । अज्ञात समूहले संखुवासभाका दुई स्थानीय तहमा आगजनी र तोडफोड गरेका भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन । अज्ञात समूहले गत मंसिर १८ गते पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको तोडफोड गरेका थिए । त्यस्तै मंसिर २५ मादी नगरपालिका ५ को वडा भवनमा आगजनी हुँदा वडा कार्यालयका सम्पूर्ण कागजपत्र, फर्निचरलगायतका सामग्री धस्त भयो । यही समूहले सोही दिन सडक निर्माणमा रहेको स्काभेटर र एउटा मोटरसाइकलमा आगो लगाएर पूर्ण रुपमा क्षति र्पुयाएका थिए ।

गत वर्ष भोटखोला गाउँपालिका कार्यालयमा समेत आगजनी भएको थियो। घटना बाट २ करोड भन्दा बढीको क्षति भएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । घटना लगत्तै ५० जना जनपथ प्रहरी र १५ जना सशस्त्र प्रहरी खटिएका थिए । तर प्रहरीले आगजनीका घटनामा सम्लग्न दोषीलाई पक्राउ गर्न सकेन । तोडफोड र आगजनीका घटनामा संम्लग्नको गहिरो अनुसन्धान भइ रहेको संखुवासभा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । घटनामा प्रतिबन्धित नेत्रबिप्लव चन्दका कार्यकर्ता भएको आशंका गरिएको छ 

गतमंसिर २४ गते भोजपुरको रामप्रसादराई गाउँपालिकाको २ नम्बर वडा र पौवादुङ्मा गाउँपालिकाको ३ नम्बर वडा कार्यालय आगजनी भयो । त्यस्तै मंसिर २२ मा खोटाङको रावाबेँसी गाउँपालिकाका प्रमुखले प्रयोग गर्दै आएको बा २ झ ३५२४ नम्बरको गाडीमा आगजनी भयो । तर यी सबै घटनामा अज्ञात समूहको नाममा घटे । तर, प्रहरीले अनुसन्धान थालेपनि घटना घटाउने समूहलाई पक्राउ गर्न सकेको छैन । घटना प्रतिबन्धित नेत्रबिप्लव चन्दका कार्यकर्ताले चन्दा संकलनलाई दवाब दिने उद्देश्यले गरेको हुन सक्ने भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले बताए । उनले भने नेत्रबिप्लव चन्दका कार्यकर्ताले पार्टी गत भन्दा पनि व्यक्तिगत हिसावले गरेको हुन सक्ने बताए । घटनाको अनुसन्धान भइरहेका कारण चाँडै दोषी फेला पर्न बताए । आगजनीका घटनाबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको स्थानीय तहले अनुमान गरेका छन्। घटना घटेको स्थान भौगोलिक हिसाबले सदरमुकामभन्दा निक्कै टाढा भएकाले समयमै प्रहरी पुग्न सक्ने अवस्था छैन । जसका कारण अनुसन्धान समेत फितलो हुने गरेको जनप्रतिनिधिको भनाइ छ । अन्योलताका कारण घटनाबाट जनता त्रसित हुन थालेको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले बताए। घटना बिप्लव वा अन्य समूहले फाइदा उठाएको हो भन्ने जानकारी नभएको उनले बताए । घटना घटेकास्थलमा थप सुरक्षा थपेर बेलैमा र्पुयाएर जनतालाई सुरक्षाको अनुभूति दिलाउनु पर्ने बताए । विभिन्न समयमा भएका बम विष्फोट र आगजनीका घटनाको जिम्मेवारी भने कसैले लिएको छैन । न त घटनामा संलग्नलाई पहिचान गरेर प्रहरीले पक्राउ गर्न सक्यो। धेरै लामो अनुसन्धान गरिए पनि अहिलेसम्म घटनामा संलग्नको पहिचान गर्न नसक्नुले घटना झनै रहस्यमय बन्दै गएको छ ।