धरान : धरान १६ निवासी तिर्थबहादुर श्रेष्ठलाई शताब्दी पुरुष घोषणा गरिएको छ । विश्व हिन्दु परिषद नेपाल धरानले उनलाइ शताब्दी पुरुषबाट विभुषित गरेको हो ।

१९७८ सालमा धनकुटामा जन्मिएका तिर्थबहादुर श्रेष्ठ धरानलाई कर्मथलो बनाएर हाल धरान १६ मा बसोबास गरिरहेका छन् । उनी वि.सं २००७ सालको क्रान्तिमा पनि पुर्वबाट प्रत्यक्ष संलग्न भएका थिए । उनले प्रजातन्त्र ल्याउनमा महत्वपुर्ण भुमिका खेलेको थिए । पछिल्लो समय उनले विभिन्न पुस्तकहरु समेत प्रकाशन गरेका थिए । राजनीतिक र सामाजिक क्षेत्रमा कलम चलाउँदै उनले सामाजिक तथा राजनीतिक परिवर्तनका लागि पुस्तक लेखनबाट समेत योगदान दिएका छन्। शताब्दी पुरुष तिर्थबहादुर श्रेष्ठलाई आगामी वैशाख १ गते धरान नगरमा रथारोहण गर्ने कार्यक्रम रहेको परिषदका प्रचार सचिव नवीन रेग्मीले जानकारी दिएका छन् । धरानमा एक कार्यक्रम आयोजना गरी उनलाई शताब्दी पुरुषबाट विभुषित गरिएको विश्व हिन्दु परिषद नेपाल धरानका महासचिव चन्द्र तिम्सिनाले बताए । उनलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र विश्व हिन्दु परिषद नेपाल धरानका अध्यक्ष देवराज अधिकारीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान-पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा परिषदका अध्यक्ष अधिकारीले अष्टादश महापूराणलाई विश्व हिन्दु परिषदले नेपाली भाषामा संक्षिप्तिकरण गरी प्रकाशन गरेको र धरान २० मा विश्वकै अग्लो हुने गरी महारुद्र नाम गरेको त्रिशुली अष्टधातुबाट निमार्ण गरिने बताए । त्रिशुल निर्माणका निम्ति धरानको नगर स्तरीय र धरान्का २० वटै वडामा वडास्तरीय सहयोग समिती बनाइने उनले बताए। कार्यक्रममा धरानका प्रमुख तिलक राईले आफुलाइ परिषदका तर्फबाट भएको सम्मानप्रती आभार व्यक्त गर्दै परिषदले गर्ने कार्यक्रमलाई सहयोग गर्ने बताए । उनले शताब्दी पुरुषलाई आफ्नो हातबाट सम्मान गर्न पाउँदा खुसी लागेको बताएका थिए ।