झापा : भारतबाट लागु औषध नेपाल भित्र्याउने दुई युवक पक्राउ परेका छन् । भारतबाट अफिम नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका-१ का ३१ वर्षीय राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दाहाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा नाकाबाट पक्राउ परेका दाहालको साथबाट साढे एक किलो अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, भद्रपुर नगरपालिका-१० स्थित रजतचोकबाट लागुऔषध ट्याबलेटसहित बिर्तामोड नगरपालिका-६ का २८ वर्षीय पदमबहादुर तामाङ पक्राउ परेका छन् । उनको साथबाट ६० एम्पुल डाइजापाम, ६० एम्पुल फिनारगन र ६० एम्पुल लुपिजेसिक बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।