गाईघाट : प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै पैसा असुलेर ठगीगरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय बाल संजाल उदयपुरका निर्वतमान अध्यक्ष सुरेश गुप्ता र सचिव रुपेश दनुवार रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका गुप्ता उदयपुरका जिल्ला नेता हुन् । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसूर मुद्दामा मंसिर १९ गते पक्राउ परेर प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै शेर्पाका अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा गुप्ता र दनुवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनीहरुले एक लाख लाग्ने भन्दै शेर्पाका अभिभावकलाई प्रलोभनमा पारी १० हजार रुपैयाँ अग्रिम बुझेका थिए । तर रकम लिए पनि शेर्पा प्रहरी हिरासतमा रहेको र जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्दा चालु अवस्थामै रहनेगरी करिव ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि गुप्ता र दनुवारको कर्तुत बाहिर आएको हो । यसबारे उजुरी परेपछि उनीहरुलाई पक्राउ गरेको एसपी मगरले बताए । ३५ वर्षीय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट निवासी हुन् भने २४ वर्षीय दनुवार त्रियुगा नगरपालिका ८ राजाबास निवासी हुन् । उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।