धरान : मिजार सेवा समाजको २५ औं रजत जयन्ती तथा साधारणसभा धरानमा सम्पन्न भएको छ ।

शनिबार प्रदेश सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष धन बहादुर हमालको अध्यक्षतामा २५ औं रजत जयन्ती तथा साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले विजय अछामीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ । समितिमा सुनिल तोलांगी (उपाध्यक्ष ) गगन नेपाली (सचिव), सुनिता नेपाली (सहसचिव), हर्कराज चर्मकार (कोषाध्याक्ष) मा चयन भएका छन् । सदस्यहरुमा सीता रम्तेल, हर्क मंग्राती, अनुष्का अछामी, सीमा मंग्राती, आशिष बिशुंके, कृष्ण पुर्कुटी रहेका छन् । यसैगरी सल्लाहकारमा धन बहादुर हमाल, गोपाल अछामी रहेका छन् ।

साधारण सभामा मिजार समुदायका जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सहज जीवनका निमित्त कामना गरे । साथै समुदायका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण पनि गरिएको थियो । सभामा लालबहादुर विश्वकर्मा, रेनुका विश्वकर्मा र सोम बहादुर बोगटीले मिजार समुदायका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई वार्षिक छात्रवृति नियमित रुपमा उपलब्ध गराउनको निमित क्रमशः नगद ५१ हजार १ सय ११ र ५५ हजार राशिको अक्षयकोषको स्थापना गरे ।

सभामा नेपाली कांगे्रस धरानका सचिव युवराज शंकर, सुदर्शन श्रेष्ठ (नेपाल कम्युनिष्ट पार्टी), ताजुब लिम्बु (संघीय समाजवादी), विष्णु थाम्देन (राष्ट्रिय जनमुक्ती पार्टी), केदार बराइली (विश्वकर्मा समाज), रामधारी मरिक (मरिक समाज), लाल बहादुर विश्वकर्मा (उपेक्षित उत्थान सरोकार केन्द्र), प्रेम लकान्द्री (सुनचादी व्यवसायी संघ), गणेश परियार (नेपाल दलित संघ), गोपाल रनपहेली (परियार समाज), राजेन्द्र राई (किरात राई यायोक्खा), गंगा बहादुर कालीकोटे (बराह इन्डस्ट्रिज), राजु रोक्का (दर्पण सेक्युरिटी), जमुना श्रेष्ठ (प्रबोध साप्ताहिक) लगायत विभिन्न राजनैतिक दल तथा जातीय संस्थाका प्रतिनिधिहरुले समाजलाई शुभकामना सन्देश तथा विभिन्न सुझाव प्रदान गरेका थिए ।

सभामा मिजार समाजका सांस्कृतिक फाँटका सदस्यहरुले स्वागत गीत तथा आकर्षक नृत्यहरु पस्किएका थिए भने कवियित्री शकुन्तला भुषाल तथा हर्क बहादुर चर्मकारले आफ्नो कविताको वाचन गरेका थिए । यसैगरी समाजका विभिन्न गतिविधि समेटिएको स्मारिकाको पनि विमोचन तथा वितरण गरिएको थियो । उक्त स्मारिकाको सम्पादन संघर्षशिल लम्जेलले गरेका हुन् । कार्यक्रमको संचालन मिजार समाजका सचिव विजय अछामी र संघर्षशिल लम्जेलले संयुक्त रुपमा गरेका थिए ।