ओखलढुंगा : ओखलढुंगाको जिल्ला सदरमुकामलाई अब सिसी क्यामेरामार्फत निगरानी गरिने भएको छ । बजार क्षेत्रका बिभिन्न चोक-चोकमा सिसी क्यामेरा जडान गरिएपछि सदरमुकामलाई क्यामेरामार्फत निगरानी गरिने भएको हो । जिल्लामा हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तथा बजारवासीलाई शान्ति सुरक्षा प्रदान गर्न सिसी क्यामेरा जडान गरिएको जनाइएको छ ।

सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामको बिभिन्न ६ स्थानमा क्यामेरा जडान गर्ने काम सम्पन्न भएको छ । सदरमुकामको रमाईलोडाँडा, मिलनचौक,जिसस टोल, गणेशचोक, भैरबटोल र हुलाक डाँडामा क्यमेरा जडान गरिएको जडानको जिम्मा पाएको जेन्युयन कम्प्युटरका सञ्चालक राजेन्द्र राईले बताए ।

एक हप्ताअघिबाट जडानको काम सुरु गरेको कम्पनीले बुधबार जडान सम्पन्न गरेको छ । नगरपालिकाले गत अर्थिक बर्षको बजेटबाट रु ५ लाखको लागतमा १२ थान सिसी क्यमेरा खरिद गरी यस आर्थिक वर्षको थप ५ लाख रुपैयाँको बजेटबाट सिसी क्यामेरा जडान गरेको सिद्धिचरण नगरपालिकाका सुचना अधिकारी नईन्द्रराज राईले बताए ।

बजारका विभिन्न ६ स्थानबाट अप्टिकलमार्फत तार बिच्छाएर जिल्ला प्रहरी कार्यलयबाट बजारको निगरानी गरिने छ । सिसी क्यामेरामार्फत जिल्ला सदरमुकामको सुरक्षा दृष्टिकोणलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक मिलनसिहं बस्नेतले बताए ।

उनले सवारी दुर्घटना तथा अन्य अपराधिक कृयाकलापको समेत निगरानी गर्न थप सहज हुने बताए । सिसी क्यमेरामार्फत प्रहरीले सदरमुकामको बिभिन्न नाकाहरु तथा अति संवेदनशील कार्यलयहरुको समेत प्रत्यक्ष रुपमा निगरानी गर्नेछ ।