खोटाङ : उदयपुरको बंशिलाघाटमा भएको अटो दुर्घटनामा खोटाङको जन्तेढुंगा गाउँपालिका-१, देवीस्थान मैनटारका वडा सदस्य गणेश खड्काको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीको बंशिलाघाटमा शुक्रबार भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य खड्काको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।

उदयपुरको बेलटारबाट घर जाने क्रममा आफैँले चलाएको स १ ह ३२३७ नम्बरको अटो शुक्रबार सडकबाट करिब १५० मिटर तल खस्दा गम्भीर घाइते भएका र अटोमा एक्लै भएका कारण शनिबार बिहान मात्र उद्धार गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईँका अनुसार दुर्घटनामा गम्भीर अवस्थामा फेला परेका वडा सदस्य खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्राथमिक उपचार गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । खड्कालाई अस्पतालले शनिबार दिउँसो मृत घोषणा गरेको हो ।

रातको समयमा दुर्घटना भएको र साथमा अन्य यात्रु नभएकाले ढिलो जानकारी पाएका कारण खड्काको उपचारमा ढिलाइ भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त अटो पनि क्षतविक्षत अवस्थामा फेला परेको छ ।