धनुषा : प्रदेश २ सरकारले आज प्रदेश २ मा सार्वजनिक विदा दिएको छ । बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आज (आइतबार) प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ । २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।

यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ । शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश २ का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ ।