विराटनगर : मोरङको धनपालथान गाउँपालिका ४ का ३८ वर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ ।

गत माघ ४ गते धनपालथान गाउँपालिका ४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादविवाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा सोमबार राती साँढे ८ बजे विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो भने कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० वर्षीय धनिराम मुखिया, २० वर्षीय हरिओम महतो, ३५ वर्षीय मणी चन्द्र महतो, ६१ वर्षीय रामबिलास महतो र ३२ वर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ वर्षीय किसन महतो र १५ वर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निगरानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।