सुर्खेत :  प्रेममा एक अर्काका लागि ज्यान दिएको दुनियाँमा प्रसस्तै उदाहरण छन् । कहिले एक अर्कालाई नपाउँदा आत्महत्यासम्मकै घटना पनि हुने गरेका छन् । यस्तै दुःखद घटना भएको छ कर्णालीमा ।

सँगै जिउने र सँगै मर्ने कसम खाएर पीरती लाएका प्रेमीको निधनपछि प्रमिकाले पनि आफ्नो ज्यान दिएकी छन् । मंगलबार बिहानै सुर्खेतमा टिपरले कालिकोटको महावै गाउँपालिका-३ का केशरबहादुर सिंहलाई ठक्कर दियो । मोटरसाइकलमा सवार सिंहलाई करिब २० मिटर पर घिसारेर क्षतविक्षत बनाएको थियो ।

घटनास्थलमै मृत्यु भएका केशरको न्यायको माग गर्दै मंगलबार दिनभर सुर्खेतमा युवाहरुले प्रदर्शन गरे । प्रदर्शन यति उग्र भयो कि प्रहरीले गोली चलाउनुपर्‍यो । प्रहरीको गोली लागेर २ जना घाइते पनि भएका छन् । प्रदर्शनकारीले पनि बजार क्षेत्रमा रहेका सीसीटिभी क्यामेरासमेत फुटाए । आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरी र प्रशासनले मंगलबार साँझदेखि सुर्खेतमा कफ्र्यु लगाएको छ ।

दिनभर तनावपूर्ण रहेको सुर्खेतमा मंगलबार दिउँसो अर्को दुःखद घटना भयो । प्रेमीको मृत्युको वियोग खप्न नसेकेर केशरबहादुरकी प्रेमिकाले पनि आत्महत्या गरेकी छन् । केशरबाहेक अरुसँग जीवन बिताउन कल्पना पनि गर्न नसक्ने भन्दै महावै गाउँपालिकाकै अरुणा शाहीले पनि आत्महत्या गरिन् । उनीहरु विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

केशरका आफन्त कमलकुमार सिंहका अनुसार उनीहरुको प्रेम परिवार, आफन्त र साथीभाइ सबैलाई जानकारी थियो । गहिरो प्रेम सम्बन्धमा रहेका केशर र अरुणा बिहे गर्ने तयारीमा थिए । आफ्नो प्रेमले पूर्णता नपाएको भन्दै केशरको निधनपछि अरुणाले पनि आफ्नो जीवन त्यागेकी छन् । दुर्घटनालगत्तै घटनास्थल पुगेकी अरुणा केशरको क्षतविक्षत शरीर देखिपछि भावविह्लल भएकी थिइन् ।

केशरको मृत्युपछि दिनभर प्रदर्शन र कारबाहीको माग गर्दै घटनामै सबै केन्द्रित भए । अरुणका मामाहरु पनि घटनास्थलमै थिए । मामाघरमा बस्दै आएकी अरुणाले त्यही मौकामा झुन्डिएर आत्महत्या गरिन् । पढ्दै गरेका अरुणा र केशरले आफ्नो खुट्टामा उभिएपछि बिहे गर्ने निधो गरेका थिए । घरको जेठो छोरा भएका कारण केशरलाई सबै जिम्मेवारी निर्वाह गर्नुपर्ने थियो ।

अध्ययनसँगै रोजगारीका लागि केशर सुर्खेत झरेका थिए । दुवै जनाले कोरिया जाने तयारी गरेका थिए । केशरको मृत्यसँगै कोरिया जाने सपनाको पनि अवहसान भयो । न दुवै जनाको सँगै बस्ने सपना पूरा भयो । न कोरिया गएर मनग्य आम्दानी गर्ने र घरजम बसाउने सपना नै ।

केशरको निधनपछि भावविह्लल भएकी अरुणाले पनि आत्महत्या गरेपछि बुधबार झन् सुर्खेतको अवस्था तनावपूर्ण हुने अनुमान गरिएको छ । प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।

https://shilapatra.com/ बाट