धरान : धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिले १७ नम्बर वडामा पनि वडा समिति गठन गरेको छ । वडा सदस्य फुलमाया परियार (कुसुम)को अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा पदम गजमेर, सचिव कुमार बयलकोटी, सहसचिव तिलक लकान्द्री र कोषाध्यक्षमा कला विश्वकर्मा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विनोद रसाइली, मैना बराइली, सन्तोष मंग्राती, सन्तोष धौलागिरी, कमलबहादुर विश्वकर्मा र कमला रोक्का चयन भएका छन् ।

     १७ नं. वडा स्तरीय भेलाका प्रमुख अतिथि काबा अध्यक्ष सुवास वर्देवाले वडाको श्रोत साधनले भ्याएसम्म समाजको सबैभन्दा पछाडी परेको दलित समुदायको उत्थान र विकास गरिने बताए । १७ नम्बर वडाको बजेटबाट प्रत्येक वर्ष दलित उत्थानका कार्यक्रम सञ्चालन भएपनि उपभोक्ताहरु नै संगठित भएर कार्यक्रम सञ्चालन गर्दा लक्षित समुदायका कार्यक्रम प्रभावकारी हुने बताए ।

दलित समुदायको उत्थान र विकासका लागि प्रत्येक वडाका दलितहरु संगठित भएर क्रियाशील हुँदा दलितको अवस्थामा चाडै सुधार आउने र सरकारले दलित उत्थानका लागि लिएको लक्ष्यमा पुग्न सहज हुने बताउँदै वडा–वडामा समिति विस्तार गरिएको धरान उपमहानगरपालिका दलित विकास समितिका सदस्यसचिव तारा लामगादेले बताए । वडा भेलामा प्रशिक्षण दिँदै धरानका २० हजार दलितलाई सुसूचित बनाएर धरानलाई व्यवहारिक रुपमा छूवाछूत मुक्त नगर बनाउने लक्ष्य रहेको बताए ।

भेलामा १७ नम्बर वडा सचिव शिशिर श्रेष्ठ, सहरी स्वास्थ्य केन्द्र धरानका नासु सुरेन्द्रकुमार यादव, दलित सेवा संघ सुनसरीका अध्यक्ष मणिराज सुनाम, नेपाल पत्रकार महासंघ सुनसरीका कार्यकारी सदस्य अनिता रसाइली, दलित विकास समितिका सदस्य रामधारी बासफोर लगायतको उपस्थिति रहेको थियो । दलित विकास समिति धरान उपमहानगरपालिकाका संयोजक किशोर परियारको अध्यक्षतामा भएको उक्त भेलामा सदस्य धनबहादुर हमालले स्वागत गरेका थिए भने सदस्य सकुन्तला भुषाले सञ्चालन गरेकी थिइन् ।

     नवनिर्वाचित १७ नं. दलित विकास वडा समितिका अध्यक्ष फुलमाया परियार (कुसुम)ले चालु आर्थिक वर्षमा दलित समुदायका लागि १ लाख ५० हजार बजेट बिनियोजन गरिएकोले अब समितिमार्फत् काम गर्न सहज भएको बताएकी छन् । आगमी आर्थिक वर्षका लागि योजना बनाउने र कार्यान्वयन गर्न समितिले सहज हुने बताएकी छन् । समितिको पहिलो बैठक समेत सम्पन्न भएको दलित विकास वडा समितिका सचिव कुमार बयलकोटीले जानकारी दिए । समितिले वडाका दलितहरुका समस्या पहिचान गरी कार्यक्रमको प्रस्तावना तयार गर्ने, वडामा पेश गर्ने र स्वीकृत भएका कार्यक्रमलाई सञ्चालन गर्नेछ ।