इटहरी : भ्रष्टाचार बिरोधी उपमहानगर भनेर चर्चा पाएको इटहरी उपमहानगरले कानुन बिपरीत जंगलमा फोहार फ्याकीरहेको छ । २०७० साल देखी निजी कम्पनीलाई ठेक्का लगाएर फोहोर व्यवस्थापन गर्दै आएको उपमहानगरले शहरको फोहोर थुपारेर चारकोशे जंगल बिनाश गर्दै गएको छ । तत्कालीन अवस्थामा इन्भारो केयर कन्सर्न प्रा.ली. संग ५ बर्षको सम्झौता गरेको उपमहागरले हाल सोही कम्पनीका संचालक रहेको वेस्ट म्यानेजमेन्ट प्रा.ली. संग २० बर्षको लागी सम्झौता गरेको छ ।

सामुदायीक वन उपभोत्ता समिति र उपमहानगरको समझदारी बमोजीम प्रा.ली .ले जंगलमा फोहोर फ्याकेको हो । फोहोर प्रशोधन गरी आम्दानी गर्ने उद्येश्यले लिएको कम्पनीले प्रशोधन केन्द्र तयार नपार्दा दैनीक ५० टन फोहोर चारकोशे जंगलमा फ्याकीने गरेको हो । जंगलमा फोहोर थुपार्ने र आगो लगाउदा पिरो धुवाले कोसी राजमार्गका यात्रु देखी इटहरी २० का स्थानीयमा ठुलो असर पुगेको छ । जुन वन ऐन बिरुद्धमा देखीन्छ ।

वन ऐन २०७६ ले जंगलमा आगो लगाउने विषयलाई गम्भीर कसुरको रुपमा लिएको छ । दफा ४९ को (घ) ले राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुरको रुपमा स्पस्ट पारेको छ। वन भित्र लगाउनेलाइ कसुर मानेर तिन बर्ष सम्म जेल सजाय हुने व्यवस्था छ । ऐनको दफा ५० को उपदफा ४ भन्छ 'आगो लगाउनेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।' फोहोर मैला व्यवस्थापन सम्बन्धी ऐन २०६८ को दफा ११ र १२ मा फोहोरमैला स्थानान्तर तथा विसर्जन उल्लेख गरीएको छ ।Phohor 1

दफा ११ को उपदफा २ मा ‘फोहोर स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरण प्रतिकूल असर नपर्ने गरी तोक्नु पर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्था समेत गर्नुपर्नेछ,’ भनीएको छ । त्यस्तै दफा १२ को उपदफा ४ मा फोहोरमैला व्यवस्थापन स्थल तोक्नको लागी जग्गाको अभाव भएमा उपयुक्त स्थलमा छनौट गरी उपलब्ध गराउनको लागी मन्त्रालय समक्ष अनुरोध गर्न सक्नेछ भनी उल्लेख गरीएको छ । तर इटहरीको फोहोरको कारण वन्यजन्तु र जङ्गलको बिनाश हुने क्रम शुरुभएको छ ।

मानव बस्ती भएर बग्ने खोला किनारमा फोहोर विसर्जन गरिएकोले बर्खायाममा फोहोर बगेर घर तथा खेतबारी सम्म पुग्छ । यसरी मानव निर्मीत फोहोर जङ्गलमा फ्याक्नाले हजारौँ वन्यजन्तु र सयौँ बोट बिरुवा नष्ट भइरहेका छन् । जसको कारण जङ्गल नष्ट हुने मात्र हैन हैजा र महामारीको प्रकोप देखापर्ने सम्भावना पनि त्यतिकै देखिन्छ ।