इटहरी: इटहरी उपमहानगरपालिकामा कुनै बेला हरित नगरी भनेर चर्चामा थियो । सडक किनारामा हरिया रुखहरु थिए । अहिले ती रुखहरु छैनन्, सडक उजाड छ ।

अहिले इटहरी उपमहानगर क्षेत्रमा दिउँसो १२ बजेसम्म फोहोर संकलन हुदैन । संकलित फोहोर पनि जंगलमा लगेर फालिन्छ । यसले हिजोआज इटहरी उपमहानगरको छवि पर्यावरणविरोधी भइरहेको छ । उपमहानगरले ‘एक घर दुई बिरुवा अभियान’ २०७६/७७ को नीति तथा कार्यक्रममै उल्लेख गरेको छ । तर, यसको कार्यान्वयन पक्ष पनि फितलो देखिएको छ ।

जंगलमा फ्याकेको फोहोरले कार्वन उत्सर्जन गर्ने र वातावरणमै प्रतिकुल अवस्था सृजना हुने वातावरण विद्हरु बताउँछन् । अरु धुँवा भन्दा प्लास्टिक जलाएको धुँवाले मानवदेखी पशुपंक्षीसम्म गम्भीर समस्या देखापर्ने वातावरण बिषयका प्राध्यापक जगन्नाथ तिम्सिना बताउँछन् । गत बर्ष २०७५ को भदौमा सडक बिस्तारको क्रममा पुर्व बुढी खोलादेखि पश्चिम पचरुखीसम्म ४ सय बढी रुखहरु काटिएको थियो ।

जनस्तरबाट बिरोध भएपछि केही बिरुवाहरु रोपिए । तिनै बिरुवाको पनि संरक्षण नहुँदा हुर्कन सकेको छैन ।
हरित नगरी इटहरीको अभियान चलाउने मध्येका एक अभियन्ता सन्दीप पौडेलका अनुसार एउटा बिरुवा रुख बन्नको लागि ३० बर्ष लाग्छ । तर सहरको लागि रुखको महत्व कति छ भन्ने नबुझी रुख काटेर ठुलो गल्ती भएको उनी बताउँछन् । समृद्ध नगरी बनाउने अभियानमा लागेको उपमहानगरपालिका पर्यावरणप्रति गम्भीर नभै भौतिक बिकासमा मात्र जोड दिइरहेकोमा उनी चिन्ता व्यक्त गर्छन् ।