धरान : धरानको दुई छुट्टा छुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले गएराती छुट्टा छुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेका हुन् ।

धरान १५ स्थित स्वीमिङ पुल लाईनमा रहेको माधब श्रेष्ठको घरमा डेरा गरी बस्ने धरान ५ का ४२ बर्षीय सुर्यबहादुर राईलाई ४ केजी गाँजासहित पक्राउ गरेको हो । उनको कोठामा प्लाष्टिक र कागजमा प्याकिङ गरी राखेको अवस्थामा नगद १० हजारसहित पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

यसैगरी धरान ८ स्थित दुर्गा चोकमा मोरङ बेलबारी नगरपालिका ४ बयरबनका २१ बर्षीय रितेश धिमाललाई लागूऔषध नाइट्रोसन लेखिएको २५ वटा ट्याबलेट र एक बोत्तल डाइलेक्स डिसीसहित पक्राउ गरेको हो । लुकाइछिपाइ राखिएको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका दुबै जनालाई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।