धरान : समाजमा कुनै अपरिचित व्यक्तिको नगद, जिन्सि तथा महत्वपूर्ण कागजात भएको सामान भेटाएपछि फर्काइदिने व्यक्ति प्रायः कमै हुन्छन् । तर महत्वपूर्ण नगद तथा कागजात भएको सामान धरानका एक युवा समाजसेवी युवराज शंकरले भेटेर सामानको धनिलाई फर्काइदिएका छन् ।

बुधबार धरानको भानुचौक स्थित रहेको प्रहरी चौकीमा सामान धनि धरान २ को फिफराज इवाहाङलाई बोलाएर लाईसेन्स, एटिएम, ७ हजार ७५ रुपैयाँ र बराईनको (दिनार) रुपैयाँ भएको पर्स शंकरले बुझाएका हुन् । इवाहाङले आफ्नो महत्वपूर्ण सामान भएको पर्स भेटाएर फर्कादिएकोमा खुशी हुदै धन्यवाद प्रकट गरे । शंकरले हिजो राति साढे ८ बजेको समयमा आफ्नो दाई मिलन शंकरसँग मोटरसाइकलमा सवार गरिरहेको बेलामा उक्त सामान धरानको एभरेष्ट लाइनमा भेटाएको बताए । शंकर नेपाली कांग्रेस धरानका सचिव तथा विश्वकर्मा युवा समाज धरानका अध्यक्ष हुन् ।