धरान : हिमालय महायान् रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बा, धरान ८ मा ङ्युने ब्रत शुरु भएको छ । बौद्ध धर्ममा ङ्युने ब्रतलाई विशेष महत्वका साथ गरिने चलन रहेको छ । यो ब्रत देवातरणको समयमा हरेक वर्ष गर्ने गरिन्छ ।

भगवान बुद्धले देवलोकमा रहेको आफ्नो मातालाई धार्मिक प्रवचन दिएर मनुष्य लोकमा आएको समयलाई देवातरण (लावाप दुईछेन) भनिन्छ । यही देव अवतरणको समयमा पुर्णिमा, औंशी, दशमी र अष्टमी जस्ता तिथि पारेर निराहार ङ्युने ब्रत बस्ने परम्परा रहेको गुम्बाका खेन रिम्पोछे तेन्जिङ वाइवाले बताए । यो ब्रत बस्नाले मन तथा आत्मा, वचन र शरीर शुद्ध हुने तथा दुर्गतीको पापवाट मुक्ति मिल्ने, नर्क लोक, प्रेत लोक र पशु लोकको दुःखवाट मुक्ति पाउने विश्वास रही आएको खेन रिम्पोछे वाइवाले बताए ।

तीन कल्प अर्थात दुईलाख चालिस हजार वर्षको पापवाट मुक्ति मिल्ने भएकाले बौद्ध धर्मावलम्वीहरुले यस ब्रतलाई महत्वका साथ लिने गरेको गुम्बाका संरक्षक मैतबहादुर तामाङले बताए । यो ब्रत पञ्चशील र अष्टशीलका लागि समेत लिइनुका सार्थै दिवंगत प्राणीहरुको मुक्ति र जीवीत प्राणीहरुको रक्षाका लागि पनि बस्ने गरिएको गुम्बा अध्यक्ष हर्कबहादुर तामाङले बताए ।
पछिल्लो समयमा बौद्ध धर्मवालम्वीहरुमा आएको धार्मिक चेतनाका कारण यो ब्रत बस्नेहरुको संख्या प्रत्येक वर्ष वृद्धि हुंदै गएको नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले बताए ।

२० गतेवाट शुरु भई २८ गते ९ दिनसम्म चल्ने यस ब्रतमा तीनसय बढी झत्तजनहरुले ब्रत लिने र हजारौंले लुङ र वाङ लिने संयोजक सुदिप योल्मोले बताए ।