काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपै प्रान्तबाट फर्कन चाहेका नेपालीलाई अविलम्ब स्वेदश ल्याउन निर्देशन दिएका छन् ।

ओलीले बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा नागरिकको स्वास्थ्य र सुरक्षामा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । ओलीले क्वारेन्टाइनको तयारीमा जुट्न र सम्पुर्ण कार्य योजनाबद्ध रुपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।

चीनबाट उद्धार गरी ल्याइने विद्यार्थी राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इंचगुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, सुर्य्विनायकस्थित कृषि तालिम केन्द्र र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र छनोट गरिएको छ । -कान्तिपुर दैनिकबाट