इटहरी : दलित सवालमा मिडियाको भूमिका विषयमा अन्तक्र्रिया इटहरीमा सोमबार आयोजना गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको आयोजना भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले वैकल्पिक धारको पत्रकारिता आवश्यकता देखा परेको बताए ।

अध्यक्ष पहाडीले वैकल्पिक वा फरक धारको पत्रकारिताले दलित सवालहरुलाई बुलन्द गर्न सक्ने भन्दै त्यस्तो पत्रकारिता गर्न दलित समुदायका पत्रकारलाई सुझाव दिएका छन् । पहाडीले राज्य र निजी क्षेत्रले दलित समुदायले संचालन गरेका संचार माध्यमलाई उपेक्षा गरेको बताउदै संघले यस्तो विभेद हटाउन संघर्षको थालनी गर्ने चेतावनी दिए ।

राष्ट्रिय दलित पत्रकारको संगठन विस्तार गर्ने क्रममा देश दौडाह गरिरहेका उनले हालसम्म ९ सय ८२ जना दलित समुदायका पत्रकारलाई संगठित गरिसकेको जानकारीसमेत दिए । त्यसैगरी संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीले हालसम्म ६ वटा प्रदेश समिति गठन गरिसकेको जनाए । उनका अनुसार ४३ जिल्लामा जिल्ला समिति गठन गरिएको छ । त्यसैगरी संघका प्रदेश १ अध्यक्ष नैन रुचालले दलित पत्रकारहरुले आफ्नो समुदायका सवालबारे जानकार हुनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा प्रदेश १ संसद उमिता बराइलीले नेपालका ६० लाख दलितलाई राज्यले अपमान गर्नु भनेको राज्यकै अपमान गर्नु हो भनिन् । उनले यसरी पिछडिएको समुदायलाई अपमान गरेर देश समृद्धिको बाटोमा अगाडि जान नसक्ने बताइन् ।
सोही अन्तक्र्रियामा दलित अधिकारकर्मी डिबी शाहसंकर, अमर बराइली, गंगा कालिकोटेलगायतले दलित पत्रकारको व्यवसायिक सुरक्षाबारे आफ्ना धारणा राखेका थिए । त्यसैगरी पत्रकार पिबी दियालीले विभेदको अवस्था झन् झन जटिल बन्दै गएकोले त्यसको विरुद्ध शसक्त रुपमा कलम चलाउनु पर्ने बताए ।